कपिलवस्तु। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले शिवराज नगरपालिका–३, मदवामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
रोटरी क्लब अफ कपिलवस्तु, शिवराज युथ क्लब र इन्ट्रयाक्ट क्लब अफ शिवगढीको सह-आयोजनामा तथा रहतवाल सामुदायिक वन उपभोक्ता समितिको विरुवा सौजन्यमा विभिन्न प्रजातिका १,००० विरुवा रोपिएका छन्।
कार्यक्रममा शिवराज पतञ्जली योग समिति, गौतम बुद्ध सब-डिभिजन वन कार्यालय, वडा प्रहरी कार्यालय, लुम्बिनी ग्रिन रिसोर्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, रोटरियन, रोट्रयाक्टर तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
कार्यक्रमले वातावरण संरक्षणसँगै वृक्षारोपणप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। सहभागीहरूले हरियाली विस्तारका यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी, स्वयंसेवक तथा स्थानीयवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले युवाहरूको सक्रिय सहभागितामार्फत समाज र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ यस्ता सामाजिक अभियानहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।









