मनिष गुप्ता कपिलवस्तु, जेठ ३० ।कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत् निःशुल्क बहु–विशेषज्ञ स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ। गत वर्षको शिविरबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा थप फराकिलो बनाउँदै दुई दिने शिविर आजदेखि सञ्चालन गरेको हो। जेठ ३० र ३१ गते सञ्चालन हुने शिविरको उद्घाटन एक विशेष कार्यक्रमका बीच गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले यस क्षेत्रका जनतालाई शिविरले ठूलो राहत पुर्याउने विश्वास व्यक्त गरे। यस वर्षको शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञ सेवाका साथै नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, मानसिक रोग तथा रेडियोलोजीलगायत बहु–विशेषज्ञ सेवाहरू समावेश गरिएको कृष्णनगर नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले सेभ द हार्ट र काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) का विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरबाट कुल १ हजार ९ सय ८८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिवराज अस्पतालका डा. दुर्गेश चौधरीका अनुसार शिविरमा ३ सय ९६ जनाको इको तथा ७ सय २७ जनाको ईसीजी निःशुल्क गरिएको थियो। डा. चौधरीका अनुसार परीक्षणका क्रममा ८७ जनामा मुटुसम्बन्धी समस्या पहिचान भएको थियो। तीमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौंका विशेषज्ञ अस्पतालहरूमा रिफर गरिएको थियो। कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार विगतको शिविरको सबैभन्दा ठूलो उपलब्धि ८ वर्षमुनिका तीन जना जन्मजात मुटुरोग भएका बालबालिकाको पहिचान हुनु र उनीहरूको काठमाडौंमा निःशुल्क मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गराउन सहजीकरण गर्नु रहेको थियो। विगतको सफल अनुभव र नागरिकको बढ्दो मागलाई मध्यनजर गर्दै यस वर्ष शिविरमा थप विशेषज्ञ सेवाहरू समावेश गरिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए। उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। समयमै रोगको पहिचान र उपचार हुन सकोस् भन्ने उद्देश्यले यसपटक थप विधाका विशेषज्ञ चिकित्सकहरूलाई सहभागी गराएका छौँ। सम्पूर्ण नगरवासी तथा आसपासका क्षेत्रका नागरिकहरूलाई शिविरमा सहभागी भई यस निःशुल्क सेवाको भरपूर लाभ लिन हार्दिक अपिल गर्दछु।” देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर र शिवराज अस्पतालबीच सञ्चालन हुँदै आएको साप्ताहिक स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि समेत समझौता भएको छ। साथै, शिविरमा पहिचान भई थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई राहतसहित उपचार उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि सहकार्य गरिएको अस्पताल प्रशासनले जनाएको छ। विशेषज्ञ स्वास्थ्य सेवाका लागि बुटवल वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेका स्थानीयका लागि आफ्नै क्षेत्रमा सञ्चालन हुन लागेको यो बहु–विशेषज्ञ स्वास्थ्य शिविर निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ।









