कपिलवस्तु । शिवराज नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ। मंगलबार वडा नं. ५ स्थित सभाहलमा आयोजित कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरेकी हुन्।
नगरपालिकाका अनुसार एक वर्षमुनिका २ हजार १६, २३ महिनासम्मका ३ हजार ९ सय ८६, १२ देखि २३ महिनासम्मका १ हजार ९ सय ७० तथा पाँच वर्षमुनिका ९ हजार ७ सय ८ जना बालबालिकाले आवश्यक खोप प्राप्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति बाबुराम आचार्यले पूर्णखोप सुनिश्चितता तथा दिगोपन अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। बालबालिकाको एउटा खोप मात्र छुटे पनि गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको उनले बताए।
साथै, शिवराज नगरपालिका वडा नं. १, ३ र ९ लाई पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिएको छ। ती वडाभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी सेवा लिएको आधारमा उक्त घोषणा गरिएको स्वास्थ्य शाखामा कार्यरत संगीता परियारले जानकारी दिइन्। संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ।
कार्यक्रममा नगरभित्र कार्यरत स्वास्थ्य चौकी प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।









