कृष्ण पौडेल,कपिलवस्तु, जेठ २५ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल, तलैया तथा सार्वजनिक पोखरीहरूको संरक्षण, व्यवस्थापन र उपयोगिताबारे स्थलगत अनुगमन गरेको छ। प्राकृतिक स्रोत संरक्षण तथा सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले अनुगमन गरिएको उद्यम विकास सहजकर्ता अनिल सापकोटाले बताए ।
अनुगमनका क्रममा टोलीले विभिन्न ताल तलैया तथा पोखरीहरूको वर्तमान अवस्था, सरसफाइ, संरक्षणको अवस्था, अतिक्रमणको जोखिम तथा स्थानीयस्तरमा भइरहेको उपयोगबारे जानकारी लिएको थियो। केही जलाशय संरक्षण अभावका कारण पुरिँदै गएको, फोहोर व्यवस्थापनमा समस्या देखिएको तथा कतिपय स्थानमा अतिक्रमणको जोखिम बढ्दै गएको पाइएकाले त्यसतर्फ गाउँपालिकाले विशेष ध्यान दिने जनाएको छ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले ताल, तलैया तथा पोखरीहरू वातावरण संरक्षण, कृषि उत्पादन, भू–जल संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण सम्पत्ति भएको बताइन्। उनले सार्वजनिक जलाशयहरूको दीर्घकालीन संरक्षणका लागि आवश्यक योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिइन्। ताल तलैया र पोखरीहरू केवल पानीको स्रोत मात्र होइनन्, यी हाम्रो प्राकृतिक सम्पदा र स्थानीय पहिचानका आधार रहेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले प्राकृतिक स्रोतहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सार्वजनिक पोखरीहरूको अभिलेखीकरण, सरसफाइ, संरक्षण तथा व्यवस्थापनका लागि योजनाबद्ध रूपमा काम अगाडि बढाइने बताए। उनले स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वय गरेर संरक्षण अभियानलाई प्रभावकारी बनाइने समेत बताए।
त्यसैगरी वडा नं. ५ का अध्यक्ष अनवर मुसलमानले ताल तलैया गाउँको पहिचान र सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। उनले स्थानीयवासीलाई जलाशय संरक्षण अभियानमा जोडिन आग्रह गर्दै संरक्षण बिना प्राकृतिक सम्पदा जोगाउन नसकिने बताए।
राजस्व परामर्श समिति सदस्य गोकर्ण सापकोटा सार्वजनिक जलाशयहरूको संरक्षणले वातावरणीय सुधारसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। ।
विजयनगर गाउँपालिकाले आगामी दिनमा सार्वजनिक ताल, तलैया तथा पोखरीहरूको संरक्षण, सौन्दर्यीकरण, सरसफाइ तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन संरक्षण अभियान सञ्चालन गर्ने जनाएको छ।









