कपिलवस्तु, शिवराज।शिवराज नगरपालिका वडा नं. ३ र ५ मा कार्यक्षेत्र रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहले चर्को गर्मीबाट विद्यार्थीलाई राहत पुर्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूलाई पङ्खा वितरण गरेको छ।
वनको वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक लाख रुपैयाँ बराबरका ३५ वटा पङ्खा दुई विद्यालयलाई वितरण गरिएको हो। रहतावल सामुदायिक वनका अध्यक्ष उत्तम चौधरीका अनुसार शिवराज–३ स्थित आधारभूत विद्यालय, मदवालाई १० वटा तथा शिवराज–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई २५ वटा पङ्खा प्रदान गरिएको छ।
अध्यक्ष चौधरीले सामुदायिक वनले वन संरक्षणका साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
पङ्खा वितरण कार्यक्रमको प्रशंसा गर्दै वडा नं. ३ का वडा अध्यक्ष नेत्र बेल्बासेले सामुदायिक वनले विद्यालयको आवश्यकता पहिचान गरी गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिपना पौडेलले चर्को गर्मीका कारण विद्यार्थीहरूलाई कक्षाकोठामा बस्नसमेत कठिन भइरहेको अवस्थामा वनले आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले गर्मीका कारण शिक्षण–सिकाइ प्रक्रिया प्रभावित भइरहेका बेला पङ्खा उपलब्ध गराइएकाले विद्यार्थी तथा शिक्षकलाई ठूलो राहत पुग्ने बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले रहतावल सामुदायिक वनको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको अध्ययन वातावरण सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।









