शिवराज, कपिलवस्तु। शिवराज नगरपालिका–४ मा सञ्चालन गरिएको एक महिने बेसिक ब्युटी पार्लर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै आत्मनिर्भर तथा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रम सम्पन्न गरिएको हो।
समापन कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष नसिम अहम्द खाँ ले सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आयआर्जनका गतिविधिमा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।
एक महिनासम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूले ब्युटी पार्लरसँग सम्बन्धित आधारभूत सीप तथा व्यावसायिक ज्ञान हासिल गरेका छन्। तालिमले महिलाहरूलाई आफ्नै व्यवसाय सञ्चालन गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहबाट यस्ता सीपमूलक तथा आयमूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ।









