कपिलवस्तु -भारतीय टोयटा कारमा लुकाइछिपाइ ल्याइएको २३३ बोतल मदिरा प्रहरीले बरामद गरेको छ। बरामद मदिराआवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार शनिबार कपिलवस्तुको शिवराज नगरपालिका १ रेन्जर पोस्टस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्राफिक चेकजाँच गर्ने क्रममा प्रहरीले कागजात नभएको एउटा टोयटा कारलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु ल्याई चेकजाँच गर्दा मदिरा फेला परेको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको डिएल ४ सिएनई ९४१२ नम्बरको भारतीय नम्बर प्लेटको टोयटा कार चेकजाँच गर्ने क्रममा कारको भन्सार जाँचलगायत आवश्यक कागजात नभएको अवस्थामा फेला परेको थियो। सो कार जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुमा ल्याइएपछि उक्त सवारीको चालक आवश्यक कागजपत्र छुटेकाले लिन जान्छु भनी गएका थिए। तर, तत्काल फर्की नआएपछि शंका लागि उक्त सवारीसाधन चेकजाँच गर्दा दोस्रो सिटको पछाडि फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा २३३ वटा फर सेल इन हरयाना वन्ली मेड इन इन्डिया लेखेको मदिरा फेला परेको थियो।
सो मदिरा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।









