कपिलवस्तु -
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ।
जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित एक घरमा पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटाको इन्टरनेट लाइन मर्मत गर्ने क्रममा कर्मचारी लेखु थापालाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेक स्थायी घर भई हाल शिवराज–३ मदवामा बसोबास गर्दै आएका ३२ वर्षीय थापा गम्भीर घाइते भएका थिए। करेन्ट लागेपछि उनलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचार गराई थप उपचारका लागि बुटवल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









