कपिलबस्तु, २५ वैशाख ।लोक कल्याणकारी विज्ञापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित कपिलबस्तुका विद्युतीय सञ्चारमाध्यमहरुको अनुगमन गरिएको छ । लोक कल्याणकारी विज्ञापन प्रशारण सम्बन्धी कार्यविधि–२०८२ बमोजिम गठित जिल्लास्तरीय सिफारिस तथा अनुगमन समितिले जिल्लाका रेडियो तथा टेलिभिजनहरुको स्थलगत अनुगमन गर्दै विज्ञापन प्रशारणको अवस्था, सामग्री र कार्यान्वयनको प्रभावकारिताबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा सञ्चारमाध्यमहरुले लोक कल्याणकारी विज्ञापनलाई प्राथमिकताका साथ प्रशारण गरेको पाइएको समितिले जनाएको छ । समितिका पदाधिकारीहरुले सरकारी नीति, जनचेतनामूलक सन्देश तथा सार्वजनिक हितका सूचनालाई प्रभावकारी रुपमा जनतामाझ पुर्याउन सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
समितिका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालय कपिलबस्तुका निमित्त प्रमुख शिवलाल बन्जाडे ले लोक कल्याणकारी विज्ञापन जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यमहरुले जिम्मेवार ढंगले विज्ञापन प्रशारण गरिरहेको पाइएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र जनमुखी सामग्रीलाई प्राथमिकता दिन आग्रह गरे ।
लोक कल्याणकारी विज्ञापन केवल सूचना प्रवाहको विषय मात्रै होइन, यो नागरिकलाई सचेत र जिम्मेवार बनाउने अभियान पनि हो, बन्जाडेले भने, सञ्चारमाध्यमहरुले राज्यका महत्वपूर्ण सन्देश गाउँ–गाउँसम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत इन्द्रमणि पौडेल ले सरकारी विज्ञापनको प्रभावकारिता मापन गर्न अनुगमन आवश्यक रहेको बताए । उनले कार्यविधिअनुसार विज्ञापन प्रशारण भए–नभएको, समय व्यवस्थापन र सामग्रीको उपयोगितालाई समितिले विशेष रुपमा हेरिरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल ले स्थानीय सञ्चारमाध्यमहरुले सीमित स्रोत–साधनका बाबजुद जनहितका सामग्रीलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको बताए । उनले लोक कल्याणकारी विज्ञापनले आम नागरिकमा सचेतना फैलाउन सहयोग पुगेको उल्लेख गर्दै राज्यले स्थानीय सञ्चारमाध्यमलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुकी सीता बन्जाडे, जिल्ला हुलाक कार्यालयका शिव खनाल, गुडु कोरी, चन्द्रपाल कुर्मी लगायतको सहभागिता रहेको थियो । समितिले जिल्लाका विभिन्न रेडियो तथा टेलिभिजनमा पुगेर विज्ञापन प्रशारणको अवस्थाबारे अवलोकन गरेको जनाएको छ ।









