कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका ले बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित ठेलागाडा व्यवस्थापन अभियान सुरु गरेको छ। बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ठेलागाडालाई व्यवस्थापन गर्न नगरपालिकाले निःशुल्क ठेला दर्ता प्रमाणपत्र वितरण थालेको हो।
बिहीबार चन्द्रौटामा अधिकांश ठेला सञ्चालकहरू नगरपालिकामा पुगेर दर्ता प्रमाणपत्र बुझेका छन्। नगरपालिकाले ठेला सञ्चालनलाई कानुनी दायराभित्र ल्याउँदै व्यवसायीहरूको पहिचान र व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
नगर प्रमुख अजय थापा ले बजार क्षेत्रमा अव्यवस्थित रूपमा ठेला सञ्चालन हुँदा सौन्दर्य बिग्रिने र आवतजावतमा समस्या हुने भएकाले व्यवस्थापन अभियान अघि बढाइएको बताउनुभयो। उहाँले दैनिक जीविकोपार्जनसँग जोडिएको पेशालाई हटाउनेभन्दा पनि व्यवस्थित बनाउने नीति लिइएको स्पष्ट पार्नुभयो।
“कतिपयले ठेला हटाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ, तर हाम्रो उद्देश्य कसैको रोजीरोटी खोस्ने होइन, व्यवस्थित बजार निर्माण गर्नु हो,” नगर प्रमुख थापाले भन्नुभयो।
नगरपालिकाले ठेला सञ्चालनका लागि केही मापदण्ड तथा शर्तहरू तय गरेको जनाएको छ। ती शर्तहरूको पालना गर्दै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ। सबै नागरिकलाई जीविकोपार्जनको अधिकार रहेको उल्लेख गर्दै व्यवस्थित ठेला व्यवस्थापनमार्फत सफा, सुन्दर र व्यवस्थित बजार निर्माण गरिने नगरपालिकाको दाबी छ।
पहिलो दिन २१ जनालाई ठेला दर्ता प्रमाणपत्र वितरण गरिएको शाखा अधिकृत लक्ष्मी कडेल ले जानकारी दिनुभयो।
अन्य स्थानहरूमा ठेला व्यवसायीमाथि धरपकड भइरहेका बेला शिवराज नगरपालिका ले समन्वय र व्यवस्थापनमार्फत समाधान खोज्ने प्रयास थालेको छ ।









