घनश्याम भर,(विजयनगर) कपिलवस्तु, २७ चैत्र ।कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा स्थानीय युवाहरूको सहभागिता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले १८ सदस्य स्थानीय युवा परिषद गठन गरिएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषदका नीति अनुसार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको नेतृत्वमा स्थानीय युवा परिषद गठन गरिएको हो ।
गठित परिषदमा अध्यक्ष थापासँगै उपाध्यक्षमा घनश्याम भर र सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखाका शिव कुमार चौधरी चयन भएका छन् । सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी परिषदमा सदस्यहरू समावेश गरिएको छ ।
युवा परिषद गठनमा कोइका र युएनएफपीएको सहयोग रहेको छ भने प्राविधिक सहयोग प्लान इन्टरनेशनल र हुरेक नेपालले प्रदान गरेका छन् । हुरेक नेपालका फिल्ड अफिसर रमजान शाहका अनुसार परिषदले स्थानीय युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले युवा परिषदमार्फत युवाहरूलाई नीति निर्माण र विकास प्रक्रियामा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमलाई हुरेक नेपालका जिल्ला परियोजना संयाेजक मनिषा शाही त्रिपाठीले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् ।











