कपिलवस्तु — आवर मदरल्याण्ड एकेडेमीको २०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष शरद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याबसन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिं प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीले विद्यालयले २० वर्षको शैक्षिक यात्रामा अनेक चुनौतीहरू पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको उल्लेख गरे। उनले विद्यार्थीको सर्वाङ्गीण विकास, व्यवहारिक शिक्षा, अनुशासन र नैतिक मूल्यमान्यतालाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्याबसन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहले वार्षिक उत्सव जस्ता कार्यक्रमले विद्यालय र विद्यार्थीबीच आत्मविश्वास बढाउने तथा प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए। उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गरे।
उक्त अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक र उत्साहपूर्ण बनाएका थिए।
कार्यक्रममा अर्जुन पाण्डे, सरोज पौडेल, घनश्याम पौडेल, कमल खड्का, हेमराज शर्मा, रामप्रसाद पौडेल लगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरेका थिए।











