घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २५ चैत्र ।कपिलवस्तुकाे विजयनगर गाउँपालिका अन्तर्गत आयुर्वेद शाखाको आयोजनामा गृहिणीहरूका लागि भान्सा सुधार सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार वडा नम्बर ६ बद्धाैरमा वडाभित्रका गृहिणीहरूलाई भान्सा सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हाे ।
कार्यक्रममा घरमै तयार गरिने दैनिक खानालाई थप स्वास्थ्यकर, पोषणयुक्त र सुरक्षित बनाउने उद्देश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको आयुर्वेद शाखाकी प्रमुख बिमला कुमारी चाैधरीले जानकारी दिइन् । कार्यक्रममा सहभागी गृहिणीहरूलाई सन्तुलित आहारको महत्व, खाना पकाउने सही तरिका, पोषण तत्वको संरक्षण गर्ने उपाय, भान्साको सरसफाई तथा खाद्य सुरक्षा सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले भान्सा परिवारकाे मुटु भएको बताउँदै स्वस्थ समाज निर्माणका लागि घरको भान्साबाटै परिवर्तन सुरु गर्नुपर्ने बताए । उनले गृहिणीहरूलाई परिवारको स्वास्थ्यको आधारस्तम्भको रूपमा चित्रण गर्दै पोषणयुक्त खाना तयार गर्ने जिम्मेवारी अझ महत्वपूर्ण भएको उल्लेख गरे । अध्यक्षले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र दीर्घकालीन रूपमा रोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले यस्ता प्रशिक्षणले दैनिक जीवनमा उपयोगी ज्ञान प्राप्तिमा टेवा पुग्ने बताइन् । उनलेे सिकेका सीप र जानकारीलाई घरमा लागू सबै सहभागीहरुलाई अनुरोध गरिन् ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए । यसले समुदाय स्तरमै स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाहमा मदत पुग्ने विश्वकर्माकाे भनाई छ ।
अभिमुखीकरण कार्यक्रमलाई आयुर्वेद चिकित्सक नलिननाथ तिवारी र बिमला कुमारी चाैधरीले सहजीकरण गरेका थिए ।











