कपिलवस्तु -
कपिलवस्तुको शिवराज नगरपालिका ३ अन्तर्गत रहेको वडा कार्यालयमा खाना पकाउने विद्युतिय (इन्डक्सन) चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, शिवराज नगरपालिका तथा हरित जलवायु कोषको संयुक्त सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत आवेदन दिएका उपभोक्तामध्ये पहिलो चरणका लागि छनोट गरिएका १०० जना उपभोक्तालाई चुलो वितरण गरिएको हो। पालिकाको ७५ प्रतिशत लगानी र उपभोक्ताको २५ प्रतिशत लगानी मा बितरण गरिएको जनाइएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वितरण कार्यक्रमले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै परम्परागत दाउरा, ग्यासजस्ता इन्धनमा निर्भरता घटाउने लक्ष्य लिएको छ। विशेषगरी ग्रामीण तथा अर्धशहरी क्षेत्रका नागरिकलाई आधुनिक र सुरक्षित खाना पकाउने प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले पहिलो चरणमा १०० जना उपभोक्तालाई चुलो वितरण गरिएको जानकारी दिनुभयो। उहाँले अन्य फारम भरेका उपभोक्ताहरूले आगामी बैशाख महिनाको अन्तिमसम्म चुलो प्राप्त गर्ने बताउनुभयो। साथै बाँकी रहेका उपभोक्तालाई समेत चरणबद्ध रूपमा समेट्दै सरकारले आगामी ५ वर्षभित्र घरघरमा विद्युतिय चुलो पुर्याउने लक्ष्य राखेको स्पष्ट पार्नुभयो।
वडा अध्यक्ष सापकोटाले विद्युतिय चुलोको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने, धुवाँजन्य स्वास्थ्य समस्यामा कमी आउने तथा घरायसी कामलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबै उपभोक्तालाई विद्युतिय चुलोको सही र सुरक्षित प्रयोग गर्न आग्रह समेत गर्नुभयो।
उक्त कार्यक्रम हरित ऊर्जा प्रवर्द्धनसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने अभियानको एक महत्वपूर्ण हिस्सा रहेको आयोजकले जनाएको छ। विद्युतिय चुलोको प्रयोग बढ्दै जाँदा वनजंगलमा पर्ने दबाब कम हुने, कार्बन उत्सर्जन घट्ने तथा दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय उपभोक्ताहरूले पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। । उनीहरूले अब धुवाँरहित, सहज र छिटो खाना पकाउन सकिने भन्दै खुशी व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले गाउँघरमा आधुनिक प्रविधि भित्र्याउन सहयोग पुगेको उनीहरूको भनाइ छ।
यस कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै सबै नागरिकसम्म स्वच्छ र सुरक्षित ऊर्जा पहुँच पुर्याउने योजना रहेको सम्बन्धित निकायले जनाएको छ।











