कपिलवस्तु – कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा यस पटकको चुनावी माहोल चर्चा छ। तर सतहमा देखिएको बलियो उपस्थिति भित्र भने दलभित्रैको अन्तरविरोध, नेताहरुबीचको प्रतिस्पर्धा र मतदातामा देखिएको अन्योलले चुनावलाई सकसपूर्ण बनाएको छ।
यस क्षेत्रलाई लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राम्रो पकड भएको क्षेत्र मानिन्छ। प्रदेश सभामा जानकी यादवको र शिवराज नगरपालिकामा अजय थापाको मेयर जितले राप्रपाको आधार बलियो रहेको सन्देश दिएको थियो।
शिवराज नगरपालिकामा अजय थापा को जितलाई राप्रपाको संगठनात्मक सफलताको उदाहरणका रूपमा लिइन्छ।
तर यसपटकको निर्वाचनमा राप्रपाभित्रै देखिएको विभाजनले समीकरण फरक बनाएको छ। अघिल्लो निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया अहिले नयाँ पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। उनले अघिल्लो चुनावमा पाएको १४ हजार मतमध्ये १० हजारभन्दा बढी मत आफ्नो व्यक्तिगत प्रभावको परिणाम भएको दाबी गरिरहेका छन्।
उनको यो अभिव्यक्तिले राप्रपा वृत्तमा असन्तुष्टि मात्र बढाएको छैन, मतदातामा पनि भ्रम सिर्जना गरेको छ।
यता राप्रपाका प्रभावशाली नेताहरूले भने रजौरियाको दाबीलाई चुनौती दिएका छन्। उनीहरूले यसपटक पार्टीका उम्मेदवार प्रेम शंकर शुक्लालाई अघिल्लोभन्दा बढी मत दिलाएर राप्रपाको जनाधार कुनै एक व्यक्तिमा निर्भर नरहेको सन्देश दिन खोजेका छन्। शिवराजका मेयर अजय थापा लगायत नेताहरू आक्रामक प्रचारमा उत्रिएका छन्। उनीहरूका अनुसार राप्रपाको संगठन र विचार नै निर्णायक शक्ति हो, कुनै एक नेताको व्यक्तिगत प्रभाव होइन।
रजौरियाको पछिल्लो गतिविधिले पनि विवाद निम्त्याएको छ। सिंहदरबार जलाउने सम्बन्धित एक भिडियो सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेका छन्। साथै टिकट सुनिश्चित गर्नका लागि उनले पहिला एमालेसँग लामो संवाद गरेको चर्चा बाहिरिएपछि कार्यकर्तामाझ उनी एउटै पार्टीमा स्थिर रहन्छन् कि रहँदैनन् भन्ने आशंका उब्जिएको छ। पार्टी परिवर्तनको यो श्रृंखलाले मतदातामा विश्वासको प्रश्न उठाएको छ।
राप्रपाभित्रको यो आन्तरिक चुनौतीसँगै अन्य दलहरूको उपस्थितिले पनि प्रतिस्पर्धा थप चर्किएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ।
कपिलवस्तु ३ का प्रभावशाली नेता मिर्जा राशिद वेगको लोकप्रियताको आधारमा उम्मेदवारी दिएका रजौरिया चुनावी समयमा मात्र जिल्ला आउने नेताका रूपमा कतिपय मतदाताले लिने गरेका छन्।
यसले उनको प्रभाव कत्तिको भोटमा रूपान्तरण हुन्छ भन्ने प्रश्न खुला नै छ।
यसैबीच मुख्य प्रतिस्पर्धा काग्रेस एमाले र रास्वपाबीच केन्द्रित हुने देखिन्छ। एमाले र कांग्रेसले आ–आफ्नो संगठन सुदृढ पार्दै मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। तर राप्रपाभित्रको मत विभाजन र रजौरियाको अलग उम्मेदवारीले अन्तिम परिणाममा निर्णायक असर पार्न सक्ने विश्लेषण भइरहेको छ।
कपिलवस्तु ३ मा यसपटकको चुनाव केवल दलगत प्रतिस्पर्धा मात्र नभई व्यक्तिगत प्रभाव र संगठनात्मक शक्तिको परीक्षणका रूपमा हेरिएको छ। रजौरियाको दाबी सही सावित हुन्छ कि राप्रपाको संस्थागत जनाधार बलियो देखिन्छ भन्ने प्रश्नको उत्तर मतपेटिकाले दिनेछ।
समग्रमा, “राप्रपाको हव” भनिए पनि भित्री समीकरण, नेताबीचको असमझदारी र मतदाताको मनोविज्ञानले यस निर्वाचनलाई अत्यन्त रोचक र चुनौतीपूर्ण बनाएको छ। अब केही दिनको प्रचार र अन्तिम मतगणनाले नै क्षेत्र नम्बर ३ को राजनीतिक दिशा तय गर्नेछ।











