कपिलवस्तु ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने दावी गरेका छन । जनताको अधिकारको स्थापित गराउन पनि नेपाली कम्युनिस्ट पार्टी लाई जिताउनु पर्ने बताएका छन ।
प्रचण्डले कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान अहमद खान लाई जनताको बलियो साथ रहेको दाबी गर्दै मुस्लिम समुदायको सम्मान र अधिकार सुनिश्चित गर्न उहाँको जित आवश्यक रहेको बताउनुभयो। उहाँले मुस्लिम समुदायको सम्मान, सुरक्षा र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै खानको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले केही शक्तिहरूले भ्रम फैलाउँदै कसैलाई जिताउन मात्र उम्मेदवार बनाएको भन्ने गलत प्रचार गरिरहेको आरोप लगाउँदै भन्नुभयो, “हामी जनताको अधिकार र संविधानको रक्षा गर्न यहाँ आएका हौं, भ्रम फैलाउने प्रयास असफल हुनेछ।”
सम्बोधनका क्रममा प्रचण्डले देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आवश्यक रहेको धारणा पनि राख्नुभयो। वर्तमान व्यवस्थामा देखिएका कमजोरीहरूलाई सुधार गर्दै जनताले प्रत्यक्ष रूपमा कार्यकारी नेतृत्व चयन गर्ने प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यस्तै, महिला, दलित र मुस्लिम समुदायको हक अधिकार स्थापित गर्न आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले हालै भएको जेन्जी आन्दोलनपछि संविधानमाथि उत्पन्न चुनौतीका बेला आफूले संविधान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी समेत गर्नुभयो। संविधानको रक्षा र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि आफू सदैव अग्रपंक्तिमा रहेको उहाँले उल्लेख गर्नुभयो।
कृष्णनगरमा आयोजित उक्त सभामा ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।











