कपिलवस्तु, — कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी १५ वर्षीय अमृत बेल्बासे शिवरात्रीको दिनदेखि सम्पर्कविहीन भएका छन्। जनक प्रसाद बेल्बासेका छोरा अमृत हिजो दिउँसो करिब १ बजेतिर घरबाट निस्किएदेखि बेपत्ता भएको उनकी दिदी सरिता बेल्बासेले जानकारी दिएकी छन्।
अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो/खैरो रंगको हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए। परिवारका अनुसार उनी बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एउटा फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। उनी लौगाईमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए। बेल्बासे परिवार अर्घाखाँचीको सितगंगा नगरपालिका–१० बर्रेबाट बसाइँसराइ गरी यहाँ बसोबास गर्दै आएको बताइएको छ।
बालक हराएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ। कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासेलाई ९८४०४८९२०९ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ। साथै स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।











