कपिलवस्तु–कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान खानले शिवराज नगरपालिका–९ मा मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा खानले आफ्नो राजनीतिक उद्देश्य, विचारधारा तथा भावी योजनाबारे स्पष्ट रूपमा धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार खानले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर समाधानमुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर सक्रिय रहने बताए। चुनाव जितेपछि मात्र नभई सधैँ जनताको सेवामा समर्पित भएर काम गर्ने उनको भनाइ थियो।
खानले विकासका नाममा देखिने असमानता अन्त्य गर्न सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने धारणा व्यक्त गर्दै जनताकै सहभागितामा दीर्घकालीन योजना निर्माण गर्ने उल्लेख गरे। स्थानीय बासिन्दाहरूले पनि यस क्षेत्रका विद्यमान समस्या समाधानका लागि प्रभावकारी पहलको अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा का केन्द्रीय सदस्य रहिस शाह, नेकपा शिवराज नगर अध्यक्ष चुर बहादुर खड्का, नगर इन्चार्ज दिनेश पुन लगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले उम्मेदवार खानप्रति सकारात्मक विश्वास व्यक्त गरेका छन ।











