काठमाडौं : नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन ‘सम्पूर्ण विपद् पोर्टल’ bipad.amnaiapp.com सञ्चालनमा आएको छ। पोर्टलले आपत्कालीन अवस्थामा नागरिक तथा सरोकारवाला निकायलाई आवश्यक पर्ने सम्पूर्ण सूचना र सेवा एकै थलोबाट उपलब्ध गराउँछ।
अन्नपूर्ण मिडिया नेटवर्कका कार्यकारी निर्देशक लालप्रसाद ऐरीले अन्नपूर्णको विपद् पोर्टल विपद् व्यवस्थापन, उद्धार र पूर्वसूचना प्रवाहलाई एकीकृत गरी विश्वसनीय डिजिटल माध्यमको रूपमा विकास गरिएको बताए । ‘यसले विपद्का समयमा सर्वसाधारणलाई सही सूचना प्राप्त गर्न र आपत्कालीन सहायतासम्म पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।
विपद् पोर्टलमा बाढी, पहिरो तथा आगलागीजस्ता आपत्कालीन घटनाहरूको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रमाणित रियल–टाइम रिपोर्टिङको व्यवस्था गरिएको छ। प्रयोगकर्ताले स्थान, समय र जोखिमको गम्भीरताअनुसार सूचनाहरू छनोट गरेर हेर्न सक्नेछन्। त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकमा आधारित भई सूचीकृत स्वास्थ्य संस्थाहरूमा उपलब्ध रगतको समूह र परिमाण प्रत्यक्ष ट्र्याक गर्न सकिनेछ।









