कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले माध्यमिक तहको शिक्षा अध्ययनका लागि विद्यार्थी टाढाका विद्यालय तथा बजार क्षेत्रमा जानुपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताउनुभएको छ।
शिवराज नगरपालिका–८ विशुनपुरस्थित श्री बालज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को पठनपाठन औपचारिक रूपमा सञ्चालन शुभारम्भ गर्दै नगर प्रमुख थापाले आफ्नै गाउँ–ठाउँमा कक्षा ११ र १२ सम्मको शिक्षा हासिल गर्ने अवसर सिर्जना हुनु सकारात्मक पक्ष भएको बताउनुभयो।
उहाँले विद्यालयमा कक्षा थपिनु मात्र पर्याप्त नभई शिक्षाको गुणस्तरलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। विद्यार्थीलाई समयअनुकूल व्यावहारिक, प्राविधिक तथा प्रतिस्पर्धी शिक्षा प्रदान गर्न विद्यालय, स्थानीय सरकार, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नगर प्रमुख अजय थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुलचन्द यादव, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुलचन्द यादवले लामो समयदेखिको प्रयास र तयारीपछि विद्यालयमा कक्षा ११ सञ्चालन गर्न सफल भएको बताउनुभयो। कक्षा ११ सञ्चालनसँगै विद्यालयको शैक्षिक विकासमा नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कक्षा १२ सम्मको पठनपाठनलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयमा कक्षा ११ सञ्चालन भएपछि विशुनपुर तथा आसपासका क्षेत्रका विद्यार्थीले माध्यमिक तहको शिक्षा आफ्नै क्षेत्रमा अध्ययन गर्ने अवसर पाएका छन्। यसबाट विद्यार्थी तथा अभिभावकको समय र आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको छ।









