कपिलवस्तु । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय खुला रक्तदान कार्यक्रमबाट १४५ पिन्ट रगत संकलन गरिएको छ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले रक्तदान मानव जीवन बचाउने सबैभन्दा महत्वपूर्ण सामाजिक सेवामध्ये एक रहेको बताउनुभयो। उहाँले राष्ट्रिय विपत्ति तथा आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
आज आयोजित रक्तदान कार्यक्रमका संयोजक गोपाल बन्जाडेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले रक्तदाताहरूको उत्साहजनक सहभागिताका कारण १४५ पिन्ट रगत संकलन गर्न सफल भएको जानकारी दिनुभयो।
राष्ट्रिय विपत्तिको समयमा रगत अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर हामीले यो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष सन्तोष पौडेलले बताउनु भयो ।
त रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले युवाहरूलाई सामाजिक तथा मानवीय सेवामा जोड्ने उद्देश्यअनुसार नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। क्लबले रक्तदानजस्तो मानवीय सेवामा सबैको निरन्तर सहयोग आवश्यक रहेको बताएको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्राविधिक टोली तथा रक्तदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।









