कपिलवस्तु ।आम जनता पार्टीका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शिव परियारले आफ्ना चुनावी एजेन्डा मतदातासमक्ष प्रस्तुत गरेका छन् । मोबाइल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका परियारले देशमा विद्यमान बेथिति, भ्रष्टाचार र दलतन्त्रको अन्त्य गर्दै सुशासन र समृद्धि कायम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।
उम्मेदवार परियारले मोबाइल छापमा अत्यधिक मतदान गरी जनताको सेवा गर्ने अवसर दिन मतदातासँग हार्दिक अपिल गरेका छन् । उनले आम नागरिकको समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गरे ।
उनले प्रस्तुत गरेका प्रमुख चुनावी एजेन्डाहरूमा देशमा बढ्दो भ्रष्टाचार र बेथितिको अन्त्य, सुशासन र राजनीतिक स्थायित्वको स्थापना, वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान, लघुवित्त, बैंक, सहकारी र बीमा क्षेत्रमा भएको अनियमितता अन्त्यलगायत विषय समेटिएका छन् ।
यसैगरी, युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी, बन्द अवस्थामा रहेका उद्योग–कलकारखाना पुनः सञ्चालन, सुकुम्बासी तथा भूमिहीन नागरिकको उचित व्यवस्थापन, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको समान र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
उम्मेदवार परियारले कपिलवस्तु जिल्लाको समग्र विकासलाई तीव्रता दिँदै जिल्लालाई ऐतिहासिक र आर्थिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्य रहेको बताए । साथै उनले विद्युत्, खानेपानी, जन्म–मृत्यु दर्ता, घरधुरी करलगायत राज्यबाट लाग्ने अनावश्यक करमा छुट दिने नीति अघि सार्ने जनाए ।
जनताको पक्षमा निर्भीक रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै परियारले परिवर्तन, सुशासन र समृद्धिका लागि मोबाइल चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
परियारले अगाडि सारेका चुनावी एजेन्डा
• भ्रष्टाचार र बेथितिको अन्त्य
• सुशासन र राजनीतिक स्थायित्व सुनिश्चित
• युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी
• शिक्षा र स्वास्थ्य सेवा सबैका लागि सुनिश्चित
• बैंक, सहकारी, लघुवित्त र बीमा क्षेत्रको सुधार
• लुटतन्त्र र दलतन्त्रको अन्त्य
• सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापन
• बन्द उद्योग–कलकारखाना पुनः सञ्चालन
• महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको समावेशी प्रतिनिधित्व
• कपिलवस्तुको तीव्र विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान











