एउटा हस्ताक्षररहित विज्ञप्तिमा उनीहरुले तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।’
उज्यालो नेपाल त्याग्नेमा डा.बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ रहेका छन् । यसैगरि, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराईले पनि कुलमानको साथ छोडेका छन् ।
रास्वपा र उज्यालो नेपालको एकता भंग भएकोमा यी नेताहरु घिसिङसँग असन्तुष्ट बनेका थिए । अडानमा लचक भएर पनि एकता जोगाउनुपर्नेमा उनीहरुको जोड थियो । उज्यालोको कोटाबाट रास्वपाको बन्दसूचीमा राखिएकी रिमा विश्वकर्मा रास्वपामै रहिन् । यस्तै, डा. तारा जोशीलाई रास्वपाले प्रत्यक्ष निर्वाचनमा डेडल्धुराबाट र अरविन्द साहलाई बारा ३ बाट उठाएको छ ।
अन्य १५ जना केन्द्रीय सदस्यहरुले पनि रास्वपामा समायोजन हुन चाहेका छन् । रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेले उनीहरुमध्ये केहीलाई केन्द्रीय समितिमा समायोजन गर्न सभापति रवि लामिछानेसँग प्रस्ताव लगेको तर लामिछानेले अस्वीकार गरेको बताइएको छ ।
विज्ञप्ति जारी गर्नेमध्येका एक नेताले भने, ‘रास्वपाले उचित स्थान दिएको खण्डमा यही पार्टीमा बस्छौं, अन्यथा आफ्नो ढंगले बैकल्पिक राजनीतिमा क्रियाशील रहनेछौं ।’











