कपिलवस्तु । धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनको माग गर्दै कपिलवस्तु किसान संघले जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापनपत्र बुझाएको छ ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०८२ साउन २६ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकिए पनि स्थानीय गल्ला व्यापारीहरूले सो मूल्यमा धान खरिद नगरेको भन्दै किसान संघले आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष अनुप कुमार चौधरीका अनुसार किसानहरूले दिनरात मेहनत गरी उत्पादन गरेको धान सरकारले तोकेको मूल्यमा बिक्री गर्न नसक्दा चिन्तित बनेका छन् । साना किसानहरूलाई त आफ्नै खेतका लागि विउविजन खरिद गर्न समेत समस्या पर्ने अवस्था आएको बताइएको छ ।
यता, व्यापारीहरूले धान खरिद गर्दा प्रतिकुन्टल रु १६ पल्लेदारी र १.५ केजी धान खर्चको नाममा असुली गर्दै आएका छन्, जसले किसानहरूलाई थप पीडामा पारेको संघको आरोप छ । संघले यस्तो गतिविधिले किसानहरू खेतीप्रति निरुत्साहित हुने, उत्पादनमा कमी आउने र मुल्यवृद्धि हुने चेतावनी दिएको छ ।
ज्ञापनपत्रमार्फत किसान संघले नेपाल सरकारबाट तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा धान खरिद–बिक्री नगर्न र गराउन आग्रह गरेको छ । साथै न्यूनतम मूल्यभन्दा कम मूल्यमा धान किन्ने व्यापारीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ ।
त्यसैगरी संघले आ.व. २०७१/०७२ मा कपिलवस्तुको जवाभरीस्थित श्री महालक्ष्मी सुगर्स प्रा.लि. लाई आपूर्ति गरिएको ऊखुको भुक्तानी अझै बाँकी रहेको भन्दै नेपाल सरकारमार्फत उक्त रकम दिलाउन पनि माग गरेको छ ।
कपिलवस्तु किसान संघले ज्ञापनपत्रमार्फत किसानका विभिन्न समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको र तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको जनाएको छ ।











