चन्द्रौटा (कपिलवस्तु) – मर्यादित श्रम अधिकारको सुनिश्चितता तथा श्रमिक हकहितको पक्षमा दबाब सिर्जना गर्ने उद्देश्यका साथ आज शिवराज नगरपालिका–चन्द्रौटा बजारमा श्रमिक महिला सञ्जाल, शिवराज नगरपालिकाको आयोजनामा दबाबमूलक ¥याली सम्पन्न गरिएको छ।
‘न्युनतम पारिश्रमिक, समान कामको समान ज्याला, श्रमिक पञ्जिकरण, स्थानिय दररेट सुनिश्चितता र कार्यस्थल सुरक्षा हाम्रो अधिकार हो’ भन्ने नारा सहित ¥याली चन्द्रौटा बजार परिक्रमा गरिएको थियो।
“समान कामको समान ज्याला” भन्ने नारासहित शिवराज नगरपालिकास्थित दुर्गा मन्दिरबाट सुरु भएको र्याली चन्द्रौटा चोकमा कोणसभामा परिणत भएको हो । कोणसभामा सहभागी श्रमिक महिलाहरुले राज्यले तोकेको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न, कार्यस्थलमा सुरक्षाको वातावरण सुनिश्चित गर्न र शिवराजलाई श्रमशोषणमुक्त नगरपालिका घोषणा गर्न माग गरेका थिए ।
कार्यक्रममा सहज नेपालकी उपाध्यक्ष तथा दलित महिला अधिकारकर्मी मिना परियारले राज्यले तोकेको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, शिवराज नगरपालिका महिला शाखाकी जिवा केसिले श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न विशेष कानुन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो ।
शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा तथा शिवराज महिला श्रमिक सञ्जालको आयोजनामा सम्पन्न कोणसभा सृष्टि घिमिरेको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजको स्वागत र सामाजिक परिचालक सबिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु तथा एक्सनएड नेपालको सहयोग र शिवराज नगरपालिकाको सहकार्यमा आयोजित उक्त ¥यालीमा स्थानीय श्रमिक महिला, विभिन्न संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो।











