कपिलवस्तु । बुद्धशक्ति कराते डोजोको आयोजनामा यही असोज २४ र २५ गते कपिलवस्तुको चन्द्रौटामा हुन लागेको प्रदेशस्तरीय खुल्ला कराते च्याम्पियनसिप–२०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
बुधबार चन्द्रौटामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजक समितिका संयोजक रामु सुनारले प्रतियोगिता भव्य र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भएको बताउनु भयो। खेलकुदमार्फत युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्य यो प्रतियोगिताको मुख्य लक्ष्य सहित प्रतियोगिताको आयोजना गरहेको जानकारी दिनु भयो।
प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट करिब ७०० खेलाडी सहभागी हुने कार्यक्रमका प्रशिक्षक नवराज पौडेलले जानकारी दिनु भयो । प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी मैत्री सम्बन्ध बढाउने र आगामी राष्ट्रिय स्तरका प्रतियोगिताका लागि उत्कृष्ट प्रतिभा छनोट गर्ने अवसर पनि प्रदान गर्ने बताउनु भयो।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा कुमिते विधामा प्रतिस्पर्धा हुने जनाइएको छ। खेलाडीहरूलाई विभिन्न उमेर समूह र तौल वर्गका आधारमा प्रतिस्पर्धामा सहभागी गराइनेछ। प्रतियोगिता असोज २४ गते बिहान उद्घाटन समारोहसहित सुरु हुने र असोज २५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रमका साथ सम्पन्न हुने बताइएको छ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुद प्रेमी, सामाजिक व्यक्तित्व, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पदक, ट्रफी र प्रमाणपत्रका साथ सम्मान गरिनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विशेष पुरस्कार पनि प्रदान गरिने आयोजक समितिले जनाएको छ।











