घनश्याम भर,(विजयनगर) कपिलवस्तु, २७ असोज ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच भएको समझदारी अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २ सय ३७ युनिट रगत तथा रक्ततत्व उपलब्ध गराइएको ब्लड बैंकका इन्चार्ज पदम बस्यालले जानकारी दिए । उक्त रगत बापत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई २ लाख २५ हजार १ सय ५० रुपैयाँ उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रगतको अभावमा कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको बताए । उनले आकस्मिक तथा अन्य स्वास्थ्य उपचारका क्रममा रगत आवश्यक पर्ने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै कार्यक्रमले बिरामी तथा तिनका परिवारलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आवश्यकता अनुसार सेवा निरन्तरता दिइने बताए ।
गाउँपालिकाको प्रशासन शाखा प्रमुख बोधराज भुसालका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ मा समेत कार्यक्रमलाई निरन्तरता दिन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भइसकेको छ । सम्झौताले गाउँपालिकाभित्रका नागरिकलाई आवश्यक परेको समयमा रगत तथा रक्ततत्व प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमले विशेषगरी आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य समस्याका कारण रगत आवश्यक पर्ने बिरामीलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।









