कपिलवस्तु । कपिलवस्तुबाट पाँच पटक निर्वाचन जितेका नेपाली कांग्रेसका नेता तथा सांसद अभिषेकप्रताप शाहले अब कुनै पनि मनोनीत पद स्वीकार नगर्ने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी क्लस्टरतर्फ सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका शाहले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि अब आफ्नो राजनीतिक भविष्य मनोनयनमा नभई जनताको मत र विश्वासमा आधारित हुने स्पष्ट पारेका हुन्।
सहमहामन्त्री पदको मतगणना सुरु हुनुअगावै शाहले गरेको यो घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र पद प्राप्तिका लागि मनोनयनको बाटो रोज्ने प्रवृत्तिबीच उनले जनताको प्रत्यक्ष अनुमोदनलाई नै राजनीतिक वैधताको आधार बनाउने अडान सार्वजनिक गरेका हुन्।
‘अब अभिषेकप्रताप शाह कहिल्यै मनोनीत सदस्य बन्ने छैन। सधैँ जनताबाट अनुमोदित भएर मात्रै अघि बढ्नेछ,’ शाहले भनेका छन्।
उनले सहमहामन्त्री पदको निर्वाचनमा हार वा जितलाई आफ्नो राजनीतिक यात्राको अन्तिम मापदण्ड नबनाउने स्पष्ट पारे। निर्वाचनको नतिजाभन्दा जनताको विश्वास र समर्थन ठूलो हुने उनको भनाइ छ।
‘मधेसी क्लस्टरतर्फ सहमहामन्त्री पदको मतगणनामा परिणाम जे आए पनि आजैदेखि मेरो संकल्प स्पष्ट छ। जनताको विश्वास, जनताको समर्थन र जनताको अनुमोदन नै मेरो राजनीतिक यात्राको आधार हुनेछ,’ शाहले भने।
कपिलवस्तुबाट पटक–पटक निर्वाचन जित्दै आएका शाहले पार्टीभित्रको प्रतिस्पर्धालाई समेत लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै अब मनोनयनको सहारामा कुनै पदमा नपुग्ने अडान लिएका छन्।
उनको यो घोषणाले कांग्रेसभित्र मनोनयनबाट नेतृत्वमा पुग्ने अभ्यास र निर्वाचनबाट अनुमोदित हुने राजनीतिक संस्कृतिबीचको बहसलाई थप बल दिने देखिएको छ।
पाँच पटक जनताको मतबाट निर्वाचित भएका शाहले सहमहामन्त्री पदको मतपरिणाम आउनुअघि नै गरेको घोषणाले उनको आगामी राजनीतिक यात्राको दिशा स्पष्ट पारेको छ। उनले पद प्राप्तिभन्दा जनताको विश्वास जित्नु महत्त्वपूर्ण रहेको सन्देश दिएका छन्। मत गणनाको नतिजा जे आएनी स्विकार्ने
बताउनु भएको छ।
पार्टीको आन्तरिक निर्वाचनमा परिणाम जे आए पनि मनोनीत पदको बाटो बन्द गर्ने शाहको घोषणाले अब उनको राजनीतिक भविष्य जनताको मतबाटै तय हुने स्पष्ट संकेत गरेको छ।









