कपिलवस्तु। जिल्लाको चन्द्रौटामा दिनदहाडै एक महिलाको घाँटीबाट करिब डेढ तोलाको सुनको सिक्री लुटिएको छ।
शिवराज नगरपालिका–५ सुन्दरटोलकी विष्णु अधिकारी (नेपाली) मंगलबार दिउँसो आफ्नै पसलमा बसिरहेका बेला लुटिएकी हुन्। उनका श्रीमान् दीपक नेपालीले सुन्दरटोल जाने बाटोमा किराना तथा चिया पसल सञ्चालन गर्दै आएका छन्।
दिउँसो पसलमा विष्णु एक्लै रहेको मौका छोपी खाजा खान आएका व्यक्तिले पैसा दिने बहानामा नजिकिएर अचानक उनको घाँटीबाट सिक्री तानेका थिए। त्यसपछि उनीहरू मोटरसाइकल चढेर फरार भएका थिए।
ती व्यक्तिहरू केही दिनदेखि पसलमा आउने, चिया–खाजा खाने र लामो समयसम्म बस्ने गरेको परिवारको भनाइ छ। मंगलबार बिहानसमेत उनीहरू चिया खान आएको र दिउँसो पुनः खाजा खान पुगेको बताइएको छ।
सिक्री लुटिएपछि विष्णुले हारगुहार गरेकी थिइन्। स्थानीय जम्मा हुँदासम्म लुटेराहरू त्यहाँबाट भागिसकेका थिए।
ग्यालेक्सी पिउने पानीमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा लुटेराहरू ज्ञानज्योति आधारभूत विद्यालय बुड्ढिहवातर्फको बाटो हुँदै फरार भएको देखिएको छ।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली अनुसन्धानमा जुटेको छ। प्रहरी निरीक्षक सन्तोष घिमिरेले सीसीटीभी फुटेजको अध्ययनसँगै संलग्न व्यक्तिको खोजी भइरहेको बताए।









