कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्यले नेताहरूसँगको निकटताका आधारमा मात्रै निर्वाचनमा टिकट पाइन्छ भन्ने भ्रम त्याग्न आग्रह गर्नुभएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आइतबार अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै महामन्त्री आचार्यले पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा योग्यता, क्षमता र योगदानका आधारमा उम्मेदवार छनोट गर्ने बताउनुभयो।
उम्मेदवार बन्न चाहनेले पार्टी केन्द्रले निर्धारण गरेको मापदण्ड पूरा गर्नुपर्ने स्पष्ट पार्दै पैसाको चलखेलबाट टिकट पाइन्छ भन्ने आशा नगर्न समेत आग्रह गर्नुभयो। “नेतासँग नजिक भएकै आधारमा टिकट पाइन्छ भन्ने सोच त्याग्नुपर्छ। पार्टीले योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिन्छ,” उहाँले भन्नुभयो।
महामन्त्री आचार्यले स्थानीय र प्रदेश तहको निर्वाचनको मिति सरकारले निर्वाचन आयोगसँगको समन्वयमा टुंगो लगाउने बताउँदै कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो। निर्वाचनको मिति औपचारिक रूपमा तय हुनुअघि नै संगठन विस्तार, जनसम्पर्क र जनतामाझ पार्टीका एजेन्डा लिएर पुग्नुपर्ने उहाँको भनाइ थियो।
आचार्यले आगामी निर्वाचनमा रास्वपालाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्ने उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो।
भेटघाट कार्यक्रममा स्थानीय अगुवा नेता तथा कार्यकर्ताले पार्टीको संगठन विस्तार, आगामी निर्वाचनको तयारी र उम्मेदवार छनोटलगायतका विषयमा महामन्त्री आचार्यसँग छलफल गरेका थिए।









