कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुँदै आएका अटो रिक्साको दर्ता तथा अभिलेखीकरण सुरु गरेको छ। नगरपालिकाले पहिलोपटक अटो रिक्सा दर्ता गरी सवारीसाधन र धनीको विवरण आफ्नो अभिलेखमा राख्न थालेको हो।
नगरपालिकाले आवश्यक कार्यविधि तयार गरी अटो रिक्सा दर्ताको काम अघि बढाएको नगरप्रमुख सुदीप पौडेलले बताउनुभयो । “नगर क्षेत्रमा सञ्चालन हुने अटो रिक्सा व्यवस्थित गर्नुका साथै सवारीसाधन र त्यसका धनीको विवरण नगरपालिकाको अभिलेखमा राख्ने उद्देश्यले दर्ता प्रक्रिया सुरु गरिएको हो। नगरपालिकाबाट प्रदान गरिने सेवासमेत सरल, पारदर्शी र जनमैत्री बनाउने हाम्रो उद्देश्य छ।”- नगरप्रमुख पौडेलले भन्नुभयाे । दर्ता प्रक्रिया सुरु गरेसँगै नगरपालिकाले पहिलो अटो रिक्सा दर्ता गरेको छ। पहिलोपटक दर्ता भएको अटो रिक्साका धनीलाई नगरप्रमुख पौडेलले दर्ता प्रमाणपत्र प्रदान गर्नुभएको छ।
प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवका अनुसार दर्तापछि नगर क्षेत्रमा सञ्चालन हुने अटो रिक्साको विवरण व्यवस्थित रूपमा राख्न सहज हुनेछ। “अटो रिक्सा दर्ता भएपछि नगर क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारीसाधन तथा तिनका धनीको विवरण व्यवस्थित रूपमा राख्न सहज हुन्छ । यसले नगरको यातायात व्यवस्थापन, अभिलेखीकरण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्छ।”-प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भन्नुभयाे ।:
यसअघि नगर क्षेत्रमा सञ्चालन भइरहेका अटो रिक्सा व्यवस्थित रूपमा दर्ता तथा अभिलेखीकरण नहुँदा नगरपालिकासँग यस्ता सवारीसाधनको यकिन विवरण थिएन। अब दर्ता प्रक्रियामार्फत नगर क्षेत्रभित्र सञ्चालन हुने अटो रिक्साको विवरण नगरपालिकाको अभिलेखमा समेटिने भएको छ। सूचना अधिकारी कृष्णनाथ पाण्डेले भन्नुभयाे- “नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो रिक्सा आवश्यक प्रक्रिया पूरा गरी दर्ता गराउन सम्बन्धित धनीलाई आग्रह गरिएको छ । दर्तापछि सवारीसाधनसम्बन्धी विवरण व्यवस्थापन गर्न तथा नगरपालिकाबाट उपलब्ध गराइने सम्बन्धित सेवा लिनसमेत सहज हुनेछ।”
कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन (अटो तथा ई–रिक्सा) को सञ्चालन, व्यवस्थापन र नियमनलाई कडाइका साथ अघि बढाएको छ । नगरपालिकाले स्वीकृत आवेदन परेका सवारीधनीहरूलाई तोकिएको समयभित्र अनिवार्य दर्ता प्रक्रिया पूरा गर्न ताकेता गरेको हो । ‘तीन पाङ्ग्रे सवारी साधन सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी ऐन, २०८२’ को दफा ३ (१) को कानुनी व्यवस्था बमोजिम गत असोज ५ गतेदेखि अटो तथा ई–रिक्साको औपचारिक दर्ता कार्य सुरु गरिएको नगरपालिकाले जनाएकाे छ । स्वीकृत आवेदन सूचीमा परेका सवारीधनीहरूले यही असोज २३ गतेभित्र सवारी साधन अनिवार्य दर्ता गराइसक्नुपर्ने सूचना अधिकारी कृष्णनाथ पाण्डेले बताउनुभएको छ । तोकिएको समयभित्र दर्ता नगराएमा पछि पर्न सक्ने कानुनी तथा प्रशासनिक जोखिमको जिम्मेवार सवारीधनी स्वयं हुनुपर्ने नगरपालिकाले स्पष्ट पारेको छ ।
नगरपालिकाका अनुसार दर्ता प्रमाणपत्र प्राप्त गरिसकेपछि सवारीधनीले आफ्नो अटो वा ई–रिक्साको अगाडि र पछाडि दुवै भागमा स्पष्ट रूपमा देखिने गरी कालो प्लेटमा नगरपालिकाले प्रदान गरेको दर्ता नम्बर अनिवार्य रूपमा लेख्नुपर्ने उहाले बताउनुभयो । नगरपालिकाले बाँकी रहेका स्वीकृत सूचीका अटो तथा ई–रिक्सा धनीहरूलाई तोकिएको म्याद असोज २३ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी दर्ता नम्बर लिन र मर्यादित रूपमा सवारी सञ्चालन गर्न पुनः अनुरोध गरेको छ ।
भुपाल थापाबाट









