घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १७ असाेज ।कपिलवस्तुको विजयनगर गाउँपालिका-१ बनखेतमा बडा दसैँको अवसरमा मेला तथा विभिन्न प्रतियोगिता आयोजना हुने भएको छ । दुर्गा भवानी आमा समूहको आयोजनामा असोज २९ गते महिला-पुरुष भलिबल प्रतियोगिताको सुरु गरिने भएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २२ हजार २ सय २२ रुपैयाँ, द्वितीयले १५ हजार १ सय १५ रुपैयाँ र तृतीयले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै कार्तिक १ गते दिउँसो लोक दोहोरी प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार ८ सय ८८ रुपैयाँ, ५ हजार ५ सय ५५ रुपैयाँ र ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
सोही दिन साँझ कालरात्रि मेला आयोजना गरिनेछ । मेलामा राष्ट्रिय लोक दोहोरी कलाकार निरा थापा मगर र सिद्धार्थ आलेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरूको समेत विभिन्न साँस्कृतिक प्रस्तुति रहनेछ ।
दुर्गा भवानी आमा समूहकी अध्यक्ष केमकुमारी राईका अनुसार बडादसैँको अवसरमा स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको हो । मेलाको तयारी तथा व्यवस्थापनका विषयमा आज बसेको बैठकले विभिन्न जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बडादसैँको अवसरमा आयोजना हुने मेला तथा प्रतियोगिताले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
उनले स्थानी यस्तरमा हुने यस्ता कार्यक्रमले समुदायबीचको आपसी सद्भाव र भाइचारा थप मजबुत बनाउने भन्दै कार्यक्रमलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।









