कपिलवस्तु । केही दिनअघि गृह मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाउनुभएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गौतमलाई सम्मानसहित विदाइ गरिएको छ।
राजीनामा बुझाएर कपिलवस्तु फर्किनुभएका प्रजिअ गौतमलाई जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले एक कार्यक्रमका बीच सम्मानसहित विदाइ गरेका हुन्।
अनिवार्य अवकाशको समय नजिक पुग्नुभएका गौतमले स्वेच्छिक रूपमा जागिरे जीवनबाट विश्राम लिने भन्दै राजीनामा दिनुभएको हो।
करिब ११ महिनाअघि कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका गौतमले आफ्नो लामो निजामती सेवा यात्रालाई कपिलवस्तुबाट विश्राम दिएको बताउनुभयो। २०४६ सालमा पोखराबाट जागिरे जीवन सुरु गरेको स्मरण गर्दै गौतमले बुद्धले लामो समय बिताएको ऐतिहासिक भूमिबाट जागिरे जीवनको अन्त्य गर्न पाउँदा आफूलाई विशेष अनुभूति भएको बताउनुभयो।
कपिलवस्तुमा जिम्मेवारी सम्हाल्ने क्रममा विभिन्न समस्या र चुनौती आए पनि स्थानीय तह, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाबीचको छलफल, समन्वय र सहकार्यबाट समाधान गर्न सहज भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि कपिलवस्तु शान्ति, सद्भाव र सहकार्यको जिल्लाका रूपमा कायम रहोस् भन्ने चाहना उहाँले व्यक्त गर्नुभयो।
३८ वर्ष लामो सेवा अवधिमा विभिन्न मन्त्रालय, कार्यालय तथा जिल्लामा काम गरेको स्मरण गर्दै गौतमले सेवाका क्रममा आएका कठिन परिस्थिति तथा घटनाहरूलाई सम्बन्धित पक्षसँगको समन्वय र संवादबाट समाधान गर्दै आएको बताउनुभयो।
कपिलवस्तु बसाइका सकारात्मक पक्षहरूको चर्चा गर्दै उहाँले जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना बोकेको उल्लेख गर्नुभयो। उपलब्ध सम्भावनाको प्रभावकारी उपयोग गर्न सके जिल्लाको समग्र विकासले थप गति लिन सक्ने उहाँको भनाइ थियो।
विदाइ कार्यक्रममा महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मान कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले प्रजिअ गौतमको कार्यशैली समन्वयकारी, सहज र जिम्मेवार रहेको उल्लेख गर्दै जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक समन्वय, विपद् व्यवस्थापन तथा स्थानीय तहसँगको सहकार्यमा उहाँले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका थिए। जिल्लामा देखिएका समस्या तथा चुनौतीलाई संवाद र सहकार्यबाट समाधान गर्न गौतमले महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरूले उहाँको प्रशंसा गरेका थिए।
सेवाबाट अलग भए पनि आगामी जीवन सुखद, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गौतमलाई खादा तथा मालासहित सम्मान गरिएको थियो।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले गर्नुभएको थियो।









