भुपाल थापा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले स्वच्छ ऊर्जामा आधारित आधुनिक भान्सा प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गर्ने भएको छ । परम्परागत चुल्होबाट हुने धुवाँ तथा स्वास्थ्य र वातावरणमा पर्ने असर कम गर्दै स्वच्छ खाना पकाउने प्रविधिको प्रयोग बढाउन नगरपालिकाले अभियान अघि बढाउन लागेको हो ।
अभियानअन्तर्गत नगरवासीलाई विद्युतीय चुल्हो, तह–३ को सुधारिएको चुल्हो र ४ घनमिटर क्षमताको घरायसी बायोग्यास प्रवर्द्धन गरिनेछ । त्यसका लागि नगरपालिकाले इच्छुक उपभोक्ताबाट सम्बन्धित वडा कार्यालयमार्फत माग संकलन गर्न सूचना जारी गरेको छ ।
नगरपालिकाले हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा स्वच्छ चुल्हो कार्यक्रम कार्यान्वयनका लागि चार वर्षे सम्झौता गरेको जनाएको छ । आज एक सूचना जारी गर्दै १५ दिनभित्र इच्छुक उपभोक्ताले सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा आवेदन दिन सक्नेछन् ।
विद्युतीय चुल्होका लागि घरमा कम्तीमा १५ एम्पियरको विद्युत् मिटर जडान भएको हुनुपर्नेछ । आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र र विद्युत् महसुल तिरेको बिल पेश गर्नुपर्नेछ ।
त्यस्तै, घरायसी बायोग्यासका लागि कम्तीमा एउटा गाईवस्तु पालेको हुनुपर्ने र नागरिकताको प्रमाणपत्र तथा जग्गाधनी पुर्जा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले स्वच्छ चुल्हो कार्यक्रमबाट लाभग्राही छनोट गर्दा घरेलु महिला, एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिने नगरप्रमुख अजय थापाले बताउनुभएको छ ।
एउटै घरपरिवारले दुई वटा प्रविधि नपाउने गरी माग संकलन तथा लाभग्राही छनोट गरिनेछ । यसअघि पहिलो चरणमा आवेदन दिएर प्रविधि प्राप्त गर्न बाँकी रहेका परिवारलाई भने पुनः आवेदन नदिन नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै, कार्यक्रमअन्तर्गत प्रविधिअनुसार केन्द्र तथा हरित जलवायु कोष, स्थानीय तह र उपभोक्ताबीच लागत साझेदारी हुनेछ ।
विद्युतीय चुल्होमा केन्द्र तथा हरित जलवायु कोषको ५७.९७ प्रतिशत, स्थानीय तहको १९.०८ प्रतिशत र उपभोक्ताको २२.२४ प्रतिशत लागत रहनेछ । त्यस्तै, सुधारिएको चुल्होमा केन्द्र तथा हरित जलवायु कोषले ८० प्रतिशत, स्थानीय तहले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत लागत व्यहोर्नेछन् ।
घरायसी बायोग्यासमा केन्द्र तथा हरित जलवायु कोषको ७६.३४ प्रतिशत, स्थानीय तहको १० प्रतिशत र उपभोक्ताको १३.६६ प्रतिशत लागत साझेदारी रहनेछ ।
बायोग्यास जडानका लागि उपभोक्ताले आफ्नो लागत साझेदारीसँगै आवश्यक खाडल तथा श्रमको व्यवस्थासमेत स्वयं गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्वच्छ ऊर्जा प्रयोग विस्तारसँगै घरभित्रको धुवाँ घटाउने, खाना पकाउने वातावरणलाई सुरक्षित बनाउने र वातावरणमैत्री प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ ।









