कपिलवस्तु -कपिलवस्तु नगरपालिका–४ कोदहामा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा १९७ जनाले आँखाको परीक्षण गराएका छन् । परीक्षणका क्रममा २५ जनामा मोतिबिन्दु देखिएपछि उनीहरूलाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ । स्थानीयस्तरमै आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्र ज्योति संघ, कपिलवस्तु शाखा आँखा अस्पताल, तौलिहवाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । लुम्बिनी अपाङ्गता विकास केन्द्रको सह–आयोजना, युनिक एग्रो सेन्टर एण्ड रूपक भेट फर्माको आर्थिक सहयोग र तौलेश्वरनाथ सामाजिक विकास संस्थाको स्थानीय प्रायोजनमा कोदहा सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो । सेवा नै धर्म हो भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको आँखाको परीक्षण गर्नुका साथै देखिएका समस्याका आधारमा आवश्यक परामर्श र थप उपचारका लागि सुझाव दिइएको थियो । आँखासम्बन्धी समस्या भएका नागरिकलाई प्रारम्भिक परीक्षणमार्फत समस्या पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउनका लागी अपरिहार्यता रहेको शिविरका संयोजक रुपक गुप्ताले बताउनुभएको छ । युनिक एग्रो सेन्टर एण्ड रूपक भेट फर्माका संचालक समेत रहनुभएको गुप्ताले विशेषगरी नियमित रूपमा अस्पताल पुग्न नसक्ने नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउँदा उपचारमा पहुँच बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।
सह–आयोजकका रुपमा रहेको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच आवश्यक रहेको धारणा राख्नुभएको छ । केन्द्रका अनुसार अपाङ्गता भएका व्यक्तिसहित समुदायका अन्य नागरिकलाई पनि सहज रूपमा स्वास्थ्य सेवासँग जोड्न स्थानीयस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवासँग सम्बन्धित सामाजिक कार्यमा स्थानीय व्यवसाय तथा संस्थाको सहकार्य आवश्यक हुने भन्दै वडातहबाट समेत आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको वडाध्यक्ष रबेन्द्रनाथ तिवारीले बताउनुभएको छ । स्थानीय समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्यसम्बन्धी सेवामा सहकार्य गर्नु सामाजिक संस्थाको जिम्मेवारी अन्तर्गत पर्ने भन्दै शिविर सञ्चालनमा स्थानीयस्तरबाट सहयोग गरिनुपर्ने उहाले बताउनुभएको छ ।
आँखाको समस्या लामो समयसम्म बेवास्ता गर्दा दृष्टिमा थप असर पर्न सक्ने भएकाले समयमै परीक्षण गराउन चिकित्सकले आग्रह गरेका छन् । शिविरमा मोतिबिन्दु पहिचान भएका २५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएकाले उनीहरूको थप उपचार प्रक्रिया अघि बढ्ने जनाइएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आँखासम्बन्धी रोगको समयमै पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्यले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।









