कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९, कुस्मामा रहेको अक्षत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा तथा प्रथाम अधिवेशन सम्पन्न गरेको छ । युवाहरूको पहलमा बि.सं. २०७९ सालमा स्थापना भएको सहकारीले छोटो अवधिमै सदस्यकेन्द्रित सेवा र स्थानीय उत्पादन प्रवद्र्धनका क्षेत्रमा काम विस्तार गर्दै आएको संस्थाका अध्यक्ष दिपक पौडेलले बताउनुभएको छ ।
सहकारीले सदस्यको आर्थिक हितसँगै स्थानीय समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालनलाई मुख्य प्राथमिकता दिंदै आएको बताउनुभयो ।
सहकारीले बिशेषगरी करेसाबारी कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउँदै स्थानीय स्तरमा उत्पादन, सहभागिता र आत्मनिर्भरता बढाउन फलफुलका विरुवा खरिद गरी समुदायमा विक्री वितरणको थालनी गरेको उहाँले बताउनुभएको छ । सहकारीप्रति शेयर सदस्यहरूले देखाएको विश्वासलाई संस्थाको मुख्य पुँजीका रूपमा लिएको उल्लेख गर्दै वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँको भनाइ छ ।
आगामी दिनमा सहकारीका सेवा र उत्पादनमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभएको छ । उहाँले संस्थामा आबद्द सेयर सदस्य एवम ऋणीको विमा कार्यक्रमको परिकल्पना गरेको समेत बताउनुभयो ।
सभामा सहकारीका सचिव शेखर शर्माले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका गतिविधि, वार्षिक प्रगति तथा आगामी वर्षका लागि तय गरिएका कार्यक्रम र योजनाबारे प्रस्तुत गर्नु भएको थियो । उहाँले संस्थाको भावी कार्यदिशा, सदस्यकेन्द्रित सेवा विस्तार र सहकारीका आगामी प्राथमिकता समेत सभासमक्ष प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिका संयोजक हरी प्रसाद खनालले संस्थाको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँले सहकारीको शेयर सदस्य संख्या अघिल्लो वर्षको ११२ बाट बढेर १२७ पुगेको छ बताउनु भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा सहकारीको शेयर पुँजी १८ लाख रुपैयाँ पुगेको जानकारी गराउनु भएको थियो ।
सहकारीका ऋण उपसमिति संयोजक पुर्ण प्रसाद पौडेलले सहकारीको ऋण प्रवाह, ऋणी सदस्यको संख्या, लगानीको अवस्था तथा अन्य वित्तीय गतिविधिबारे समेत विवरण प्रस्तुत गर्नुभएको छ ।
यसैबीच, आइतबार सम्पन्न अक्षत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशनबाट अध्यक्षमा पुनः दिपक पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा माया भुसाल जिसी, सचिवमा शेखर शर्मा र कोषाध्यक्षमा आस्था जिसीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा ढकलाल खनाल, चेतनारायण पौडेल र सविता तिवारी पन्थी निर्वाचित हुनुभएको छ ।

यसैगरी, रामकरन चौधरीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यमा रीमा उपाध्याय र नित्यानन्द गिरी चयन हुनुभएको छ।
अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै सहकारीले आगामी दिनमा संस्थागत सुदृढीकरण, पारदर्शिता, सदस्य हित र उत्पादनमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाल प्रसाद पौडेलले सहकारीलाई केवल बचत र ऋणमा सीमित नराखी उत्पादन, रोजगारी र समुदायको आर्थिक सशक्तीकरणसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले युवाहरूको सक्रियतामा सञ्चालन भएको अक्षत बहुउद्देश्यीय सहकारीले स्थानीय स्तरमा सकारात्मक उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै पारदर्शिता, सदस्यको विश्वास र जिम्मेवार व्यवस्थापनलाई निरन्तर कायम राख्न सुझाव दिनुभयो ।
कार्यक्रलाई सम्बोधन गर्दै संस्थापक सदस्य दिबा राज शर्माले सहकारीको भविष्य सुरक्षित र बलियो बनाउन सबै सदस्यले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारीका नीति तथा योजनाहरू कागजमा मात्र सीमित नराखी व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्रै संस्था उन्नति र दिगोपनको बाटोमा अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले सहकारीको नाफा क्षणिक नभई दिगोपनलाई ख्याल गर्दै संस्था उत्पादनशील, पारदर्शी र सदस्यप्रति उत्तरदायी बन्न आवश्यक रहेको बताउनुभयो ।
समाजसेवी बाल प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्तिराम पौडेल, खगेश्वर उपाध्याय, गंगादेवी पौडेल, नित्यानन्द गिरी, कृष्णगोपाल केसी, पदम प्रसाद तिवारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरूको समेत उल्लेख्य तथा सक्रिय सहभागिता रहेको थियो । साथै, सोही अवसरमा एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।









