कपिलवस्तु -पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ(कपिलवस्तु सडकखण्डअन्तर्गत भाइरल डाँडा नजिक खसेको पहिरो पन्छाइएको छ ।
लगातारको वर्षाका कारण शनिबार राति करिब ८ बजेको समयमा सडकमा पहिरो खसेपछि अवरुद्ध भएको सडक सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको समन्वयमा पन्छाइएको हो ।
सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वार्टर भालुबाङका प्रमुख एसपी यदु कार्कीका अनुसार सुरक्षा निकाय, सडक डिभिजन कार्यालयलगायतको सहयोगमा सडकमा खसेको माटो तथा ढुंगा हटाइएको हो ।
पहिरो खसेपछि केही समय उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको थियो । पहिरो गएको स्थानमा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली पुगेर सडकको अवस्था निरीक्षण तथा आवश्यक समन्वय गरेको थियो ।
लगातार वर्षा भइरहेकाले उक्त क्षेत्रमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।









