कपिलवस्तु असोज ९ गते । जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा जिल्लामा सक्रिय ३० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाहरूले आफूले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले गैरसरकारी संस्थाहरूले जिल्लाको आवश्यकता र प्राथमिकता पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । काम गर्नु मात्रै उपलब्धि नभएको भन्दै उहाँले कार्यक्रमबाट समुदायमा वास्तविक परिवर्तन र लक्षित वर्गले प्रत्यक्ष लाभ पाउने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरेर स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शिक्षा, स्वास्थ्य तथा नागरिकको जीवनस्तर सुधारमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । गैरसरकारी संस्थाका कार्यक्रम धेरैजसो तालिममा केन्द्रित हुने गरेको उल्लेख गर्दै उहाँले नागरिकलाई जिम्मेवार र कर्तव्यबोध गराउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सम्बन्धित विषयगत कार्यालयसँग आवश्यक समन्वय नगरी कार्यक्रम सञ्चालन गर्न नहुने उहाँको भनाइ थियो । संस्थाहरूले आफ्नो कार्यक्षेत्र र क्षेत्राधिकार स्पष्ट गरी प्रचलित कानुन, विधान तथा नीतिअनुसार काम गर्नुपर्ने बताउँदै उहाँले संस्थागत सुशासनका लागि आवश्यक मानव संसाधन नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले जिल्लामा सयौँ गैरसरकारी संस्था रहेपनि सबै संस्था गोलबद्ध हुन नसकेको बताउनुभयो । पर्याप्त समन्वयको अभावमा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाको यकिन संख्या बताउनसमेत कठिन रहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षा बिकास तथा समन्वय एकाई कपिलवस्तुका प्रमुख माधव बन्जाडेले शिक्षामा सामाजिक संस्थाहरुले एकरुपताका साथ काम गर्न आग्रह गर्नुभएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका सत्यराम हरिजन र स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत मधु चौधरीले सबै निकायबीच समन्वय मार्फत मात्रै परिणाममुखी नतिजा हासिल गर्न सकिनेमा जोड दिनुभयो । यस्तै, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले गैरसरकारी संस्थाहरूले समुदायमा गरेका काम र उपलब्धिलाई प्रभावकारी रूपमा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सेवा पुग्न नसकेका क्षेत्र र समुदायसम्म संस्थाहरूले पु¥याएको योगदान सञ्चारमाध्यममार्फत बाहिर ल्याउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज किड्स, दलित सामाजिक विकास केन्द्र, लुम्बिनी अपांगता बिकास केन्द्र, किर्डाक नेपाल, सिद्धार्थ सामाजिक विकास केन्द्र, साथी संस्था, दलित महिला संघ, माहुरी होम, शान्ति पुनःस्थापना गृह, आफन्त नेपाल, पिस नेपाल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र नवजीवन लगायत संस्थाले आफ्ना गतिविधिबारे जानकारी गराएका थिए । संस्थाहरूले शिक्षा, स्वास्थ्य, कृषि, खाद्य तथा पोषण, मानव बेचबिखनविरुद्धको अभियान, आँखा स्वास्थ्य तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका क्षेत्रमा काम गर्दै आएको जानकारी गराइएको थियो । कार्यक्रममा गैरसरकारी संस्थाहरूले सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।









