चन्द्रौटा । नेपाली कांग्रेस शिवराज नगर कार्यसमितिको नेतृत्वमा मधुसुदन पोख्रेलले ह्याट्रिक गर्नुभएको छ। १३औँ अधिवेशनदेखि लगातार नगर कांग्रेसको नेतृत्व गर्दै आउनुभएका पोख्रेल १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न नगर अधिवेशनबाट तेस्रो पटक नगर सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।
यसअघिको अधिवेशनमा पोख्रेल निर्वाचनमार्फत सभापतिमा निर्वाचित हुनुभएको थियो। यसपटक भने सभापति पदमा उहाँको पक्षमा सहमति जुटेपछि निर्विरोध तथा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो।
लगातार तेस्रो पटक नगर सभापतिको जिम्मेवारी पाउनुभएका पोख्रेलको नेतृत्व यात्रा १३औँ अधिवेशनदेखि निरन्तर रहँदै आएको छ। निर्वाचनबाट सुरु भएको उहाँको नेतृत्व यसपटक भने सर्वसम्मतिमा पुगेको हो।
नगर अधिवेशनबाट उपसभापतिमा गुरुप्रसाद यादव र गंगा देवी चापागाईं, सचिवमा कमलनाथ चौधरी तथा सहसचिवमा रहिमान मियाँ चयन हुनुभएको छ।
तेस्रो कार्यकालका लागि जिम्मेवारी पाएका पोख्रेलसामु अब नगरका वडा तहसम्म पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने जिम्मेवारी आएको छ।









