चन्द्रौटा । नेपाली कांग्रेस शिवराज नगर कार्यसमितिको सभापति पदका लागि युवा इन्जिनियर मोहन केसीले उम्मेदवारी अघि सारेका छन्। आज हुने अधिवेशनमा सहमति नजुटेपछी शिवराज नगरपालिकामा कांग्रेस नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।सभापति पदका लागि निर्वाचनमा ४उम्मेदवार होमिएका छ्न। परम्परागत राजनीतिक कार्यशैलीलाई समयअनुकूल परिवर्तन गर्दै कांग्रेसलाई प्रविधिमैत्री, युवामैत्री र नयाँ पुस्तासँग जोडिएको संगठन बनाउने एजेन्डासहित केसी मैदानमा उत्रिएका हुन्।
पछिल्लो समय पार्टीप्रति युवापुस्ताको विश्वास र भरोसा कमजोर हुँदै गएको भन्दै त्यसलाई पुनः स्थापित गर्दै नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको केसीले बताएका छन्। उनका अनुसार युवालाई पार्टीका कार्यक्रममा सहभागी गराउने मात्र नभई उनीहरूको सोच, क्षमता, सिर्जनशीलता र प्रविधिमैत्री सीपलाई संगठन निर्माण तथा नेतृत्व प्रक्रियामा अर्थपूर्ण रूपमा जोड्न आवश्यक छ।
पछिल्लो समय राजनीतिप्रति नयाँ पुस्ताको चासो र अपेक्षा बदलिँदै गएको भन्दै कांग्रेसको स्थानीय संगठनलाई पनि त्यसअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको केसीले औंल्याएका छन्। विशेषगरी जेन्जी पुस्तालाई कांग्रेसको संगठन र नेतृत्वसँग जोड्ने वातावरण निर्माण गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।
इन्जिनियरिङ पृष्ठभूमिका केसीले पार्टीका गतिविधिमा प्रविधिको प्रयोग बढाउने, डिजिटल माध्यमबाट कार्यकर्ता तथा नागरिकसँग प्रत्यक्ष जोडिने र युवाको सिर्जनशीलतालाई संगठन निर्माणमा उपयोग गर्ने योजना अघि सारेका छन्।
“अबको कांग्रेस केवल परम्परागत शैलीमा चल्ने होइन, प्रविधि र नयाँ पुस्ताको सोचसँग जोडिएर अघि बढ्नुपर्छ,” केसीले भने, “युवाले पार्टीमा आफ्नो भविष्य र भूमिका देख्ने वातावरण बनाउन सके मात्रै नयाँ पुस्तालाई कांग्रेससँग जोड्न सकिन्छ।”
उनले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई प्रचारको माध्यममा मात्र सीमित नराखी जनताको गुनासो, सुझाव र स्थानीय समस्यासँग पार्टीलाई जोड्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
“युवाले खोजेको कांग्रेस र समयले मागेको संगठन निर्माण गर्नुपर्छ,” केसीको धारणा छ। नयाँ पुस्ताका सवाललाई पार्टीको स्थानीय एजेन्डासँग जोड्दै युवालाई नेतृत्वमा अवसर दिने र पार्टी संगठनलाई थप चलायमान बनाउने उनको लक्ष्य रहेको छ।
शिवराजमा कांग्रेसको संगठनलाई प्रविधिमैत्री बनाउँदै पार्टी तथा नागरिकबीचको सम्बन्धलाई थप बलियो बनाउने, युवाको सहभागिता बढाउने र नयाँ सोचलाई संगठनमा स्थान दिने उद्देश्यसहित आफूले सभापतिमा उम्मेदवारी दिएको केसीले बताएका छन्।
नगर सभापति पदमा केसीसहित वर्तमान नगर सभापति मधुसूदन पोख्रेल, पूर्व नगर सचिव विष्णु पोख्रेल र अघिल्लो अधिवेशनमा झिनो मतले पराजित राजु खराल आकांक्षी छन्। नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि भोलि निर्वाचनमार्फत नगर सभापति चयन गर्ने तयारी गरिएको छ।
भोलिको निर्वाचनले शिवराज कांग्रेसको नयाँ नेतृत्व चयनसँगै नयाँ पुस्ता, प्रविधि र बदलिँदो राजनीतिक कार्यशैलीलाई स्थानीय संगठनले कसरी आत्मसात गर्छ भन्ने बहसलाई समेत अगाडि ल्याएको छ।









