चन्द्रौटा । नेपाली कांग्रेस शिवराज नगर कार्यसमितिको अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि भोलि निर्वाचन प्रक्रियामार्फत टुंगो लगाउने तयारी भएको छ।
नेतृत्व चयनमा सहमति जुटाउन आज दिनभर प्रयास गरिए पनि आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनमा जाने तयारी गरिएको हो।
नगर सभापतिका लागि चार जना आकांक्षी देखिएका छन्। हालका नगर सभापति मधुसूदन पोख्रेल, युवा इन्जिनियर मोहन केसी, नगर सचिवको जिम्मेवारी सम्हालिसकेका विष्णु पोख्रेल र अघिल्लो अधिवेशनमा झिनो मतले पराजित भएका राजु खरालले सभापति पदमा दाबी गरेका छन्।
सहमतिको प्रयास सफल नभएपछि भोलि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा कांग्रेस शिवराज जुटेको छ। सभापतिसहित नगर कार्यसमितिका अन्य पदमा समेत निर्वाचन हुने सम्भावना रहेको कांग्रेसका नेताहरूले बताएका छन्।









