कपिलवस्तु, भदौ ११ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज सम्पन्न बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालालाई उपलब्ध गराई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिमा राहत, उद्धार तथा आवश्यक सहयोगका लागि जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई अपिल गर्ने र राहत तथा सहयोग एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, बुद्धभूमि नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय साजन थारूको चट्याङ लागेर मृत्यु भएपछि नगरपालिकाले परिवारलाई उपलब्ध गराएको दुई लाख रुपैयाँ आर्थिक सहायता रकम सोधभर्ना स्वरूप बुद्धभूमि नगरपालिकालाई उपलब्ध गराउने निर्णय भएको छ।
बैठकले कपिलवस्तुमा सम्भावित बाढी, डुबान, आगलागी, सर्पदंश, चट्याङ तथा सडक दुर्घटनालगायतका विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कायम गरी आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।
जिल्ला तथा स्थानीय तहमा उपलब्ध खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, दमकल, डुंगा, लाइफ ज्याकेट, स्ट्रेचरलगायत स्रोतसाधनको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने अवस्थामा राख्ने निर्णय गरिएको छ।
यसैगरी सम्भावित विपद्का जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन गरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा प्राप्त सूचना स्थानीय तह, सुरक्षा निकाय र समुदायस्तरसम्म तत्काल सम्प्रेषण गर्ने व्यवस्था मिलाइने भएको छ।
बैठकले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, सुरक्षित व्यवहार तथा खोज र उद्धारसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू विषयगत कार्यालय र स्थानीय तहले समुदायस्तरसम्म नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
भदौ र असोज महिनासम्म पनि मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी, पहिरो, डुबानलगायतका प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि योजनाबद्ध पूर्वतयारी गर्ने तथा घटना घटेमा तीनै तहका सरकार, स्थानीय तह र संघसंस्थाबीच समन्वय गरी प्रभावकारी प्रतिकार्य सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रकाशनमा सहयोग गर्ने RAIN परियोजनालाई धन्यवाद समेत ज्ञापन गरेको छ।









