कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटामा भएको करिब ३८ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका पाँच जना धरौटीमा रिहा भएका छन्।
ठगी मुद्दामा जिल्ला अदालतले भाद्र १० गते शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईलाई ७ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका कमलप्रसाद भण्डारीलाई ६ लाख ५० हजार रुपैयाँ, विक्रम केसीलाई ३ लाख रुपैयाँ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेयलाई २ लाख रुपैयाँ र फार्मेसी सहायक रुक्सना खातुनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
यसअघि उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी अनुसन्धान भइरहेको थियो। अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम बैंकमा जम्मा भएको देखाउन विभिन्न मितिका १२९ वटा बैंक भौचर प्रयोग गरिएको तर भौचरमा उल्लेखित ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंक खातामा जम्मा नभएको अनुसन्धानबाट खुलेको थियो।
यसै प्रकरणमा अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख वीरेन्द्र मिश्रा र फार्मेसीष्ट लक्ष्मण रिमाल भने वैशाखदेखि नै फरार रहेको जनाइएको छ।









