कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा बजारमा पार्किङ तथा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ। नगर प्रमुख अजय थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बजार क्षेत्रमा सवारी आवागमन, पार्किङ र सरसफाइलाई व्यवस्थित गर्ने निर्णय गरेको हो।
बैठकले यात्रुवाहक तथा मालवाहक सवारी, अटो रिक्सालगायतका सवारी साधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। चन्द्रौटा हाटबजार नजिक रहेको रिफ्रेस सेन्टरमा पार्किङ गर्नुपर्ने र पालैपालो मात्र बजारभित्र सवारी लैजानुपर्ने व्यवस्था गरिएको छ। मालवाहक ट्रकलाई सामान लोड–अनलोड गर्न आवश्यक परेको अवस्थामा मात्र बजार क्षेत्रमा प्रवेश गराउनुपर्ने निर्णय गरिएको छ।
नगर प्रमुख अजय थापाले बजारको सुन्दरता, ट्राफिक व्यवस्थापन र नागरिकको सहज आवागमनका लागि सबै पक्षले नियम पालना गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “चन्द्रौटा बजारलाई व्यवस्थित र सफा बनाउन सबैको सहकार्य आवश्यक छ। तोकिएको स्थानमा मात्र पार्किङ गर्ने र नियम पालना गर्ने संस्कारको विकास गरौँ, अटेर गर्नेलाई आवश्यक कारबाही गरिनेछ।”
त्यस्तै, बजार क्षेत्रमा डस्टबिनको प्रयोग गरी सरसफाइ कायम गर्नुपर्ने तथा अटो रिक्साहरूले पालिकाले तोकेको स्थानमा मात्र पार्किङ गर्नुपर्ने निर्णय गरिएको छ। नियम उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने जनाइएको छ।
बैठकमा वडा अध्यक्ष नेत्र बेल्वासे,प्रशासकीय अधिकृत लक्ष्मी कडेल, प्रहरी नायव निरीक्षक शिव पराजुली, ट्राफिक प्रहरी प्रवीण खड्का, पश्चिम नेपाल यातायात प्रालिका बाबुराम हमाल, कृष्णनगर यातायात समितिका दिनेश कुमार काश्यप, बुटवल यातायातका सञ्जय रानालगायत सरोकारवालाको उपस्थिति रहेको थियो









