चन्द्रौटा । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले आफ्नो नवौं स्थापना दिवस समारोह सम्पन्न गरेको छ। कपिलवस्तुको चन्द्रौटामा आइतबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष, जिम्मेवार र व्यावसायिक ढंगले काम गर्नुपर्ने बताएका छन्।
समारोहका प्रमुख अतिथि महानिरीक्षक पौडेलले संगठनले हासिल गरेको व्यावसायिक दक्षता र उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिए। उनले समयअनुकूल सुरक्षा रणनीति अपनाउँदै उच्चस्तरीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिए।
नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार बन्नुपर्ने बताउँदै महानिरीक्षक पौडेलले मानव अधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्ने धारणा राखे।
सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएको उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रमा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिए। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरीले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। विपद् व्यवस्थापन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी अघि बढ्न उनले निर्देशन दिए।
समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना, कार्यक्षेत्र तथा हालसम्म सम्पादन भएका गतिविधिबारे जानकारी गराएका थिए।
वि.सं. २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन्। बाहिनीअन्तर्गत ८ वटा गण, ६ वटा गुल्म, १ वटा मद्दती सेवा गुल्म, ९ वटा सीमा सुरक्षा गुल्म, ५० वटा बीओपी, २७ वटा सुरक्षा बेस र ५ वटा एफओबी गरी कुल १०६ वटा सुरक्षा इकाइ सञ्चालनमा रहेका छन्।









