कपिलवस्तु । विश्वका अधिकांश देशहरू सुख्खा, खडेरी तथा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा परिरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मंगोलिया पुगेका छन्।
नेपालका नगरपालिकामध्येबाट शिवराज नगरपालिकालाई प्रतिनिधित्व गर्दै नगरप्रमुख थापा मंगोलियाको राजधानी उलानबाटारमा आयोजित महत्वपूर्ण कार्यक्रम कप १७ मा सहभागी भएका हुन्। कार्यक्रममा थापा नेपाली मौलिक पहिचान झल्किने दौरा–सुरुवाल र ढाका टोपीमा सहभागी भएका छन्।
कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गरेकोमा नगरप्रमुख थापाले अन्तर्राष्ट्रिय मेयर्स फोरम प्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्। उनले जलवायु परिवर्तनका कारण विश्वभर देखिएका सुख्खा, खडेरीलगायतका समस्याबारे अन्तर्राष्ट्रियस्तरमा छलफल र अनुभव आदानप्रदान गर्न कार्यक्रम महत्वपूर्ण रहेको बताएका छन्।
यस्तै, उलानबाटार शहरका नगरप्रमुख तथा स्थानीय प्रतिनिधिहरूले नेपालको मौलिक परम्परा, संस्कृति र रीतिरिवाजबारे जानकारी लिँदै नेपाली प्रतिनिधिमण्डललाई न्यानो आतिथ्यताका साथ स्वागत गरेकोमा पनि थापाले धन्यवाद व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको मौलिक पोसाकसहित सहभागी भएका नगरप्रमुख थापाले शिवराज नगरपालिका र कपिलवस्तुको प्रतिनिधित्व गर्दै स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत पाएका छन्।









