कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ मा यात्रु तथा स्थानीय ग्राहकलाई लक्षित गर्दै नयाँ व्यवस्थापनसहित होटल तुल्सिपुर एक्सप्रेस सञ्चालनमा आएको छ । तुल्सिपुर यातायात व्यवसायीसँगको सम्झौतामा यात्रुहरूलाई गुणस्तरीय खाना तथा सहज सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक द्रोण आचार्यले बताए ।
तुल्सिपुरमा समेत होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्षसमेत रहेका आचार्यले यात्रुका साथै पारिवारिक रूपमा आउने ग्राहकलाई समेत सहज र स्वच्छ वातावरणमा खाना खाने व्यवस्था गरिएको बताए। होटलमा गुणस्तरीय खाना, सरसफाइ र व्यवस्थित सेवामा विशेष ध्यान दिइने उनको भनाइ छ।
होटलको उद्घाटन गर्दै पूर्वमन्त्री अर्जुन केसीले यात्रुहरूलाई लक्षित गरी व्यवस्थित रूपमा सञ्चालनमा आएको होटलले स्थानीय व्यवसाय तथा सेवाक्षेत्रमा योगदान पुर्याउने बताए। उनले ग्राहकको सन्तुष्टि र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न सुझाव दिए।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिका–१ का वडा अध्यक्ष खिमविक्रम केसीले केही होटलका कारण समग्र होटल व्यवसायप्रति नै नकारात्मक धारणा बन्ने अवस्था रहेको बताए। उनले होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन व्यवसायीहरूले स्वच्छता, गुणस्तरीय खाना र राम्रो व्यवहारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
होटल व्यवसायी महासंघ लुम्बिनीका उपमहासचिव शिवराज सापकोटाले होटल व्यवसायलाई व्यवस्थित र सेवामुखी बनाउन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए। उनले यात्रु तथा ग्राहकलाई गुणस्तरीय सेवा दिन व्यवसायीहरू जिम्मेवार बन्नुपर्ने उल्लेख गरे।
त्यस्तै, होटल व्यवसायी महासंघ कपिलवस्तुका अध्यक्ष पदम ढकालले होटल व्यवसायको विस्तारसँगै सेवा र गुणस्तरमा पनि प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनले ग्राहकको विश्वास जित्ने गरी व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरे।
होटल तुल्सिपुर एक्सप्रेसले यात्रु, स्थानीय तथा पारिवारिक ग्राहकलाई लक्षित गर्दै खाना तथा आतिथ्य सेवा उपलब्ध गराउने जनाएको छ। नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको होटलले यात्रुहरूलाई सहज र गुणस्तरीय सेवा दिने लक्ष्य लिएको छ । कार्यक्रममा होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।









