गत मंगलबार रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको पद हस्तान्तरण कार्यक्रम आयोजित रिसोर्टमा खाना खाएका ४० जना बिरामी परेका हुन् । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजी घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको खानाले आयोजकसहित अतिथिहरूलाई फुड प्वाइजन भएको बताइन्छ ।
करिब सय जना सहभागी कार्यक्रममा खाना खाएर बिरामी परेकामध्ये प्रहरी उपरीक्षक मनोहर भट्ट, रोटरी अध्यक्ष रोमाकान्त घिमिरे, पत्रकार महासंघका सहसचिव कृष्ण पौडेल, सरकारी कार्यालयका प्रतिनिधि तथा रोटरीका सदस्यहरू मुख्य हुन् ।
रिर्सोटको लापरबाहीका कारण यस्तो भएको हाल अस्पतालमा उपचाररत एक सहभागीले जानकारी दिए । घटना सामसुम पार्न खोजीएपछि स्थानीय नारायण पौडेलले प्रहरीमा रिसोर्ट विरुद्ध उजुरी दिएका छन् । बिरामीहरूको तौलिहवा, पिपरा अस्पताल तथा बुटवलका अस्पतालमा उपचार भईरहेको छ ।
कार्यक्रममा स्थानीय पत्रकार, प्रहरी, अन्य अथिति तथा आयोजक अधिकांश बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तत्काल रिसोर्ट बन्द गर्न निर्देशन दिएको छ । रिसोर्ट सञ्चालकले घटना लुकाउन खोजेको भन्दै प्रशासनले खानाको नमूनासमेत संकलन गरेर जाँचका लागि पठाएको छ ।
रिर्सोटकै लापरबाही कारण गत जेठमा पौडी पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको थियो । त्यतिबेला नौ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको रिसोर्टको पौडी पोखरी मापदण्ड विपरित रहेको बताइन्छ ।









