कपिलवस्तुबाट सुरु गरिकोयो अभियानलाई सम्बोधन गर्दै (एमाले) महासचिव शंकर पोखरेलले पार्टीले युवापुस्तालाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन्।
लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार आयोजित ‘मिशन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले केही समयअघिसम्म पार्टी नेतृत्वको पक्षमा दृढ रूपमा उभिँदै आएका आफूले अब पार्टीभित्रका कमजोरीहरू खुला रूपमा स्वीकार गर्नुपर्ने अवस्था आएको बताए।
उनले एमाले जनतामुखी बन्न नसकेको स्वीकार गर्दै विशेषगरी युवाको विश्वास जित्न पार्टी असफल भएको उल्लेख गरे। अब पार्टीलाई समयानुकूल बनाउँदै वैचारिक रूपमा पुनर्गठन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
पोखरेलले पार्टीलाई जनताको अपेक्षा, बदलिँदो सामाजिक परिवेश र युवापुस्ताको चाहनाअनुसार अघि बढाउन नेतृत्वले आत्मसमीक्षा गर्दै नयाँ सोच र कार्यशैली अपनाउनुपर्नेमा जोड दिए। उनका अनुसार पार्टीलाई थप जनउत्तरदायी, प्रभावकारी र परिणाममुखी बनाउन संगठनात्मक तथा वैचारिक रूपान्तरण अपरिहार्य भइसकेको छ।
यसअघि पनि कपिलवस्तुमै पार्टीको पुनःगठन अभियानका विषयमा छलफल गरिएको थियो ।









