वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको ३ जना फरारको खोजी भइरहेको र थप अनुसन्धानका लागि म्याद थप गर्न खोज्दा ज्येष्ठ २१ गते जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुको म्याद थप नगर्ने उल्टै अभियोग परिमार्जन गर्न दियो । जिल्ला न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डेले लिखित रुपमै प्रहरीलाई ठगी तथा किर्तेमा अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
सरकारी वकिल कार्यालय श्रोतले भन्यो- “उनीहरुलाई संगठितमै मुद्धा चलाउँदा ६० दिनसम्म थुनामा राख्न मिल्थ्यो, माथिबाट मिलाउन दबाब आयो, अभियोग नै परिमार्जन गरे,२५ दिन भन्दा बढी राख्न मिलेन,त्यसपछि अदालत नटेकाई धरौटीमा छाडिएको हो” । संगठित अपराध मुद्धा अनुसन्धानको अन्तिम अन्तिममा पुगेको प्रहरीले फेरि ठगी तथा किर्तेमा अनुसन्धान गर्दा हालसम्म मुद्धा सरकारी वकिल कार्यालय पुगेको छैन भने आरोपीहरु धरौटी बुझाएर निर्दोष दावी गर्दै हिंडिरहेका छन् । आरोपीमध्ये लक्ष्मण रिमाल,सेराज अहमद दर्जी तथा वीरेन्द्र मिश्रा फरार छन् ।
"हाल विदेश रहेका दर्जीले आफन्तसंगको कुरामा बैंक कर्मचारीसंग मिली भौचरमा सक्कल छाप,नक्कली ट्रान्जेक्सन कोड हालेर नगद रकम फिर्ता गरेर बाँड्ने गरेको समेत स्वीकारेका छन् । "
सरकारी रकम सरकारी निकायमा कार्यरत ८–८ जना कर्मचारीहरुबाटै हिनामिना हुनु र सरकारी निकायबाटै मुद्धा फितलो गराइनुले आशंका उब्जाउने अधिवक्ताहरु बताउँछन् । संगठित अपराध निवारण ऐन २०७० को दफा ३ अनुसार दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर जानीजानी कुनै गम्भीर अपराध गरेमा त्यस्तो कार्यलाई संगठित अपराध गरेको मानिने प्रष्ट उल्लेख छ ।
आरोपी नै स्वीकार्छन् अपराध :
संगठित अपराध नखुल्ने भन्दै किर्ते तथा ठगीमा अभियोग ल्याउन सरकारी वकिल कार्यालयले निर्देशन दिए पनि आरोपीहरुले भने सबै मिलेर उक्त आर्थिक हिनामिना गरेको स्वीकारेका छन् । जनआस्थालाई प्राप्त आरोपीमध्येका एक सेराज अहमद दर्जीले स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईको दबाबमा अस्पतालका फार्मेसिष्ट लक्ष्मण रिमाल,नेपाल बैंक लिमिटेडका कर्मचारी कमलप्रसाद भण्डारी,विक्रम केसीसंग मिलेर रकम हिनामिना गरेको स्वीकारेका छन् । हाल बैदेशिक रोजगारीका लागि विदेश रहेका दर्जीले आफन्तसंगको कुरामा बैंक कर्मचारीसंग मिली भौचरमा सक्कल छाप,नक्कली ट्रान्जेक्सन कोड हालेर नगद रकम फिर्ता गरेर बाँड्ने गरेको समेत स्वीकारेका छन् ।
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले समेत सरकारी वकिल कार्यालयले उक्त घटनामा संगठित अपराधको अभियोग नलगाएकोमा आश्चर्य व्यक्त गरेका छन् । “हामीले संगठित अपराध र अपराधिक विश्वासघातमा जाहेरी दिएका छौं, प्रहरीले त्यसैलाई आधार मानेर ३ पटकसम्म म्याद थपी अनुसन्धान गर्यो, अहिले एकाएक किन मुद्धा कमजोर बन्यो,हामी अचम्भित छौँ” उनले भने । सार्वजनिक भएको अडियोले समेत उनीहरुले अपराध स्वीकारेको र उनीहरुमाथि संगठित अपराधमा मुद्धा दायर हुनुपर्ने मेयर थापाको जिकिर छ ।









